म्याग्दी । बेनी नगरपालिकाले कालिपुलमा कृषि बजार सञ्चालनका लागि भवन निर्माण थालेको छ।
सङ्घीय सरकारको कृषि तथा पशुपंक्षी बजार प्रवर्द्धन कार्यक्रमअन्तर्गत विशेष अनुदानमा म्याग्दीको प्रवेशद्धारामा पर्ने बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रमा भवन बनाउन थालेको हो।
गत माघ महिनामा लिमिसा कन्ट्रक्सन एण्ड सप्लायर्सले रु ४२ लाख ४५ हजार ४५५ मा ठेक्का सम्झौता गरेको थियो । आगामी असार महिनासम्म ठेक्काको म्याद रहेको छ । निर्माण कम्पनीले यसै हप्तादेखि कार्यक्षेत्रमा परिचालन भएको छ ।
यस वर्षको बजेटबाट कृषि उपज भण्डारण र बिक्री वितरणका लागि भुई तलामा चार वटा कोठा र शौचालय तयार पार्नुका साथै पहिलो तला ढलान मात्र गरिने बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए।
यसअघि आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएको रु ३० लाख २५ हजार बजेटबाट भवनको जग र आर्थिक वर्ष २०८१/८२ मा रु २६ लाख ५० हजारमा डिपिसी गर्नुका साथै पिल्लर ठडाइएको थियो ।
एक हजार ४० वर्गफिट क्षेत्रफल जमिनमा निर्माण हुने तीनतले भवनको भवनको माथिल्लो तलामा तरकारी पसलका लागि आठ वटा सटर बनाउने लक्ष्य छ । रु तीन करोड लागत अनुमान गरिएको भवन निर्माणलाई क्रमागत योजनाको रूपमा सञ्चालन गरिएको छ ।
भुई तला व्यवसायिक प्रयोजनका लागि भाडामा लगाउने र बिचको तलामा मासु पसल राख्ने योजना अघि सारिएको वडाध्यक्ष कर्माचार्यले बताउनुभयो । बेनीका सबै तरकारी र मासु पसललाई एकै ठाउँबाट सञ्चालन गर्ने लक्ष्यसहित कृषि बजारको भवन बनाउन लागिएको हो ।
एकै ठाउँमा सबै तरकारी र मासु पसल सञ्चालन गर्दा प्रतिस्पर्धा हुने, कृषकले उत्पादन गरेको उपज बजारीकरणमा सहयोग पुग्ने र उपभोक्ताले एकै ठाउँमा स्वच्छ तरकारी खरिद गर्न पाउँदा सुविधा पुग्ने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए। कृषि उपज बेच्न कृषक र खरिद गर्न उपभोक्ता बजार भौतारिता हुने समयको बचत हुने उनले बताए। रासस





