Khabar Out
इयु स्पेनको पक्षमा, ट्रम्पको धम्कीबारे तयार

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणका लागि अमेरिकी आधार प्रयोग गर्न अस्वीकार गरेको स्पेनसँगको व्यापार तोड्ने धम्की दिएपछि युरोपेली आयोगले बुधबार इयु आफ्नो हित र सदस्य राष्ट्र स्पेनको सुरक्षा र आर्थिक हितको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता ओलोफ गिलले जारी गरेको विज्ञप्तिमा भने, “हामी सबै सदस्य राष्ट्रहरू र नागरिकहरूसँग एकतामा उभिएका छौँ र आवश्यकता परे हाम्रो साझा व्यापार नीति मार्फत इयु हितहरूको रक्षा गर्न कार्य गर्न तयार छौँ ।”

ट्रम्पले मङ्गलबार स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको सरकारले रोटा नौसेना आधार र मोरोन एयर बेसको प्रयोग गर्न नदिएको र नाटोका लागि रक्षा खर्च बढाउने प्रतिज्ञा गर्न अस्वीकार गरेकोमा गम्भीर आपत्ति जनाउँदै स्पेनसँगको व्यापार बन्द गर्ने धम्की दिए।

गिलले भने,“युरोपेली आयोग संयुक्त राज्य अमेरिकासँग गत वर्ष सम्पन्न ठूलो व्यापार सम्झौताको प्रतिबद्धताहरूको पूर्ण सम्मान अपेक्षा गर्छ । हामी दुवै पक्षको हितमा स्थिर, पूर्वानुमानयोग्य र पारस्परिक रूपमा लाभदायी ट्रान्साटलान्टिक सम्बन्ध कायम राख्न वकालत जारी राख्नेछौँ ।”

साथै आयोगले विश्वव्यापी अवरोधको समयमा यस्तो सम्बन्धको रक्षा पहिलेभन्दा बढी महत्त्वपूर्ण रहेको बताएको छ। सान्चेजको वामपन्थी सरकारले गाजामा इजरायलको युद्धको कडा विरोध र भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको अपहरण र गिरफ्तारीको सैन्य कारबाहीका कारण वासिङ्टनसँग सम्बन्ध तनावपूर्ण बनेको छ । रासस

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update