Khabar Out
महानगरका १० वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको तयारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरका १० वटा वडामा भूप्रशासन सेवा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाएको छ । यसका लागि कामपाले कर्मचारीलाई प्रक्रिया र प्रणालीसम्बन्धी तालिम दिइसकेको छ ।

पहिलो चरणमा नमूनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा उक्त सेवा सञ्चालन गर्न लागिएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् । उनका अनुसार कामपाको ४७औँ कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ बाट भूसेवामा काम गर्ने कर्मचारीलाई सहभागी गराइएको उनको भनाइ छ ।

नागरिकलाई महसुसयोग्य सेवा प्रवाहमा आफूले कर्मचारीबाट आशा एवं भरोसा लिएको बताउँदै डङ्गोलले नमूना कार्यक्रमको सिकाइबाट मानव स्रोत, कार्यकक्ष, साधन तथा उपकरण थप गरेर अन्य वडामा सेवा विस्तार गर्दै लैजाने, कर्मचारीको क्षमता विकास तथा प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  २२:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update