Khabar Out
सुरक्षा खतराको कारण प्रधानमन्त्री एन्थोनी निवासमा फिर्ता

काठमाडाैँ । मङ्गलबार राति सुरक्षा खतराको कारण निवास बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि क्यानबेरास्थित निवास ‘द लज’ मा फर्किएका छन् । 

अष्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’ को सम्बन्धमा जवाफ दिएको पुष्टि गरेको छ । खानतलासी पूरा भएपछि प्रधानमन्त्री निवासमा फर्किएका हुन् । 

“प्रधानमन्त्रीको निवासमा ‘कथित सुरक्षा’ चेतावनीपछि सुरक्षा सुनिश्चितताका लागि गहन खोजी गरिएको थियो तर त्यहाँ कुनै पनि शङ्कास्पद कुरा फेला परेन,” सङ्घीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा छैन।”

अष्ट्रेलियामा हालैका महिनाहरूमा प्रधानमन्त्री र अन्य सङ्घीय राजनीतिज्ञहरूको सुरक्षाका लागि खतरा बढेको छ । गत अक्टोबरमा एएफपी आयुक्त क्रिसी ब्यारेटले राजनीतिज्ञहरूलाई निशाना बनाउने लगायतका खतराहरूको सामना गर्न र त्यस्ता अवाञ्छित घटनाहरूलाई मध्यनजर गर्दै नयाँ राष्ट्रिय सुरक्षा अनुसन्धान टोली गठन गरिएको घोषणा गरेका थिए । 

उनले यस महिनाको सुरुमा सिनेटको एक कार्यक्रम उद्घाटन वक्तव्यमा घृणा र हिंसा देशका राजनीतिज्ञहरू, अन्य पदाधिकारीहरू र अष्ट्रेलियाको यहूदी समुदायका सदस्यहरूप्रति निर्देशित भएको बताए। टोलीहरू स्थापना भएदेखि अष्ट्रेलियामा २१ व्यक्तिहरूलाई अभियोग लगाइएको छ। रासस

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update