कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा गोल्डकपको २५औँ सस्करणको फाइनल खेल आज हुँदै छ ।
पोखरा रंगशालामा दिउसो २ बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब पोखरा भिड्दै छन् ।
जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन । जावलाखेल पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने र सहारा पनि इतिहास दोहोर्याउने लक्ष्यमा छ ।
विसं २०७० मा पहिलोपटक उपाधि चुमेको सहारा दोस्रो उपाधिका लागि मैदानमा जाँदै छ ।
जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाइज युनाईटेडलाई ३–० र सेमिफाइनलमा विदेशी टोली उज्वेकिस्तानको आभा एफसीलाई १–० ले हराउँदै फाइनल पुगेको हो ।
सहाराले भने प्रि–क्वाटरफाइनलमा गोरखा इन्टरनेसलन फुटबल क्लब हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई ६–५ र सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
गत माघ २७ गतेदेखि सुरु भएको २५औँ संस्करणको प्रतियोगिताको च्याम्पियन टोलीले १४ लाख एक हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले सात लाख एक हजारसहित ट्रफी र मेडल पुरस्कार पाउने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउँदा अन्य पाँच विधामा उत्कृष्ट हुनेले जनही २५ हजार र ट्रफी पुरस्कार पाउनेछन् । रासस





