Khabar Out
झापा गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलबाट बाहिरियो

 झापा । झापा गोल्डकपमा चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलबाटै घर फर्किएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंशालामा जारी सातौँ झापा गोल्डकपअन्तर्गत आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबसँग ४–० को फराकिलो गोल अन्तरले पराजित हुँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलबाट बाहिरिएको हो ।

योसँगै मच्छिन्द्र क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । यही फागुन ४ गते हुने फाइनल प्रतियोगितामा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लवसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा मच्छिन्द्रका तर्फबाट स्ट्राइकर जोनाथन जोरिल्लाले तीन गोल गर्दै ह्याट्रिक गरेका थिए । त्यस्तै अतिरिक्त समयमा रेजिन सुब्बाले एक गोल थपे ।

खेलको ‘प्लेयर अफ दी म्याच’ मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित भएका छन् । उनले रु २५ हजार पुरस्कार प्राप्त गरेका आयोजकले जनाएको छ । प्रतियोगिताभर प्लेयर अफ दी म्याचको पुरस्कार अमेरिका निवासी रोशनलाल श्रेष्ठ र उनका साथीले प्रदान गर्दै आएका छन् ।

प्रतियोगितामा विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही रु ३५ हजार पाउने आयोजकले जनाएको छ । फाइनल खेल फागुन ४ गते हुने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update