Khabar Out
आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै सहारा सेमिफाइनलमा

कास्की। पोखरामा सञ्चालन भइरहेको राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक सहारा क्लब प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा आज सम्पन्न पहिलो क्वाटरफाइनलको रोमाञ्चक खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ‘सडनडेथ’सम्म पुगेको खेलमा ६–५ गोलले हराउँदै सहाराले अन्तिम चारमा स्थान बनाएको हो।

पुलिस क्लबले खेलको ४९औं मिनेटमा कप्तान राम बाजीको गोलमार्फत अग्रता लिएको थियो। खेलको ६१औँ मिनेटमा सहाराले पेनाल्टी पायो। मुकुन्दकुमार निउरेले कुनै गल्ती नगरिकन गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो।

पेनाल्टीमा पुलिसका राम बाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक टिकेन्द्र थापा पनि गोल गर्नबाट चुके। तर सडेनडेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै टिकेन्द्रले टोलीलाई सेमिफाइनल पुर्‍याउन निर्णायक भूमिका खेले।

पेनाल्टीमा सहाराका डिनियल बडारु, प्रशन्न श्रेष्ठ, विनय तामाङ, विक्की चामलिङ राई र शिसश थापाले गोल गरेका छन्। पुलिसका निरज खड्का, दशरथ गिरी, जोन विष्ट, विजय उराव, अमित टमाटा र सञ्जीव लामाले गोल गरेका हुन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सहाराका गोलरक्षक थापा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु १० हजारसहित ट्रफी प्राप्त गरेका छन्। प्रतियोगिताअन्तर्गत क्वाटरफाइनलको आइतबार हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।

यही फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशका तीन र नेपालका नौ गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको च्याम्पियन टोलीले रु १४ लाख एक हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउँदा उपविजेता टोलीले रु सात लाख एक हजारसहित ट्रफी पुरस्कार पाउने आयोजक सहाराले जनाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update