Khabar Out
पर्वतमा कुष्ठरोगीको सङ्ख्या घट्दै, चार जना उपचाररत

पर्वत । जिल्लामा पछिल्ला केही वर्षयता कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । हाल चारैजना उपचाररत छन् ।

तीन जनाले प्रदेश अस्पतालबाट नियमित उपचार तथा औषधि सेवन गरिरहेका छन् भने एक जनाले विहादीमा रहेको स्वास्थ्य केन्द्रबाट औषधि सेवन गर्दै आएका कार्यालयले जनाएको छ । त्रिहत्तरौँ विश्वकुष्ठरोग दिवसका अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको अन्तर्क्रियामा आर्थिक वर्ष २०७९/८० मा १५ जना कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन्।

आव २०८०/८१ मा छ जना नयाँ बिरामी पत्ता लागेका थिए । चालु आवको छ महिनासम्म चार जना पत्ता लागेकामा सबै उपचाररत रहेका कार्यालय प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । पछिल्लो समय जनचेतना अभिवृद्धि हुँदै जानु, जाँच तथा खोजपड्तालको कार्यक्रम कम हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ ।

कुष्ठरोगको जाँच तथा खोजीकार्य निकै झन्झटिलो रहेको बताउँदै अर्कोतर्फ बिरामी खुल्न नचाहने र समाजले हेर्ने दृष्टिकोणका कारण पनि समस्या भएको जिल्ला अस्पतालका डा मिलन अवालेले उल्लेख गरे । धार्मिक ग्रन्थले गरेको व्याख्या र सामाजिक दृष्टिकोणका कारण रोग लुकाउने समस्या समाजमा व्याप्त रहेको उनको भनाइ छ । कतिपय बिरामी सम्पर्कमा आउन नचाहेको पनि देखिएको छ ।

कुष्ठरोग निवारणका लागि नयाँ कुष्ठरोगीको पहिचान गर्ने, उपचार गराइसकेका ठाउँमा फेरि जाँचबुझ गर्ने, विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने र समयमै नागरिकलाई सुसूचित गराउँदै आएको कार्यालय प्रमुख आचार्यले बताए ।

कुष्ठरोगका बारेमा समाजमा अझै पनि गलत धारणा रहेको बताउँदै समयमै उपचार गर्न सके कुष्ठरोग निको हुने डा अवालेले जानकारी दिए । सदरमुकाम कुश्मा आसपासका बिरामी रहेकाले जनचेतनासँगै बिरामीको उपचार गराउने उदासीनताका कारण यो रोग निर्मूल पार्न नसकिएको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले जुनसुकै रोग लागे पनि व्यक्ति संवेदनशील हुनुपर्नेमा जोड दिए । कुष्ठरोगलाई पनि अन्य रोगसरह हेर्नुपर्ने बताउँदै यसका लागि समाजमा सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ । रासस 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update