Khabar Out
चीनमा तौल घटाउने औषधि बिक्री गर्न अनुमति

काठमाडाैँ । चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो ।

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो । दिनमा एक पटक सेवन गर्नुपर्ने यो औषधि गत अप्रिलमा अमेरिकामा पनि स्वीकृत भएको थियो ।

यससँगै एली लिली चीनमा मुखबाट सेवन गरिने जीएलपी–१ औषधि स्वीकृत गराउने पहिलो कम्पनी बनेको छ। सुईबाट दिइने यस्ता औषधि भने एली लिलीसहित डेनमार्कको नोभो नोर्डिस्क र चिनियाँ कम्पनी इनोभेन्टले यसअघि नै त्यहाँ उपलब्ध गराउँदै आएका छन् ।

जीएलपी–१ औषधिले भोक कम गर्ने र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने प्राकृतिक हर्मोनको नक्कल गरी तौल घटाउन सहयोग गर्छ। सुईबाट दिइने औषधिको विकल्पका रूपमा खाने औषधि ल्याउन उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको छ।

‘द ल्यान्सेट’ मा सन् २०२५ मा प्रकाशित अध्ययनअनुसार सन् २०५० सम्ममा चीनमा बढी तौल वा मोटोपना भएका वयस्कको सङ्ख्या ६३ करोड पुग्ने अनुमान छ। त्यस्तै, राष्ट्रिय स्वास्थ्य आयोगले सन् २०३० सम्ममा देशको ६५ प्रतिशत जनसङ्ख्यामा बढी तौल वा मोटोपनाको समस्या हुने चेतावनी दिएको छ। रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update