Khabar Out
माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन

मुस्ताङ। माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । हिउँयामको अत्यधिक चिसो मौसममा बेसी नझरी गाउँ बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य रक्षाका लागि माथिल्लो मुस्ताङको लोमान्थाङ–२ स्थित नामासुङ र न्यानोल गाउँमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरको संयुक्त आयोजनामा स्थानीय नागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर चलाएको हो ।

हिउँयामको जाडो मौसममा बेसी नझरी गाउँमा बसेका स्थानीय नागरिकहरूलाई ज्वरो, रुघाखोकी र निमोनियालगायतका स्वास्थ्य समस्याहरू देखिने सम्भावना हुने भएको स्थानीय नागरिकहरूको कल्याणका लागि घरदैलोमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । शिविरमा गाउँमै बसेका स्थानीय नागरिकहरूको स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको प्रमुख पौडेलले बताए ।

एक्याप लोमान्थाङ, सशस्त्र प्रहरी र नेपाल प्रहरीका एक/एक जना स्वास्थ्यकर्मी स्वास्थ्य परीक्षणमा खटिएका प्रमुख पौडेलले उल्लेख गरे । शिविरमा नामासुङ र न्यानोलका १९ महिला र तीन पुरुष गरी २२ जनाले स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएको एक्याप लोमान्थाङले जनाएको छ । यस प्रकारका स्वास्थ्य शिविर आवश्यक अनुसार हिउँदयामभरी सञ्चालन गरिने कार्यालय प्रमुख पौडेलको भनाइ छ । रासस

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update