Khabar Out
पक्राउ परेका श्रम संस्कृतिका उपाध्यक्ष विश्वक्रान्तिलाई पाँचथर पठाइयो

काठमाडौँ । विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका कुमार विश्वक्रान्ति र देवराज लामा भनिने राजकुमार तामाङ लामालाई थप अनुसन्धानका लागि पाँचथर पठाइएको छ । 

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्षसमेत रहेका लामालाई २०८१ भदौ १४ गते भएको बम विस्फोटमा एक बालिकाको मृत्यु र दुई जना घाइते भएको घटनामा पाँचथरमा उजुरी परेको आधारमा पक्राउ गरिएको हो ।

पाँचथरमा उनीविरुद्ध जाहेरी रहेकाले काठमाडौँको कपनबाट पक्राउ गरी आजै थप अनुसन्धानका लागि पाँचथर पठाइएको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार लामालाई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित घरबाट पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको हो । 

यसअघि लामा २०६८ सालमा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाईम बम विष्फोट गराई मानबहादुर तामाङसहित तीन जनाको मृत्यु तथा सोम तामाङसमेत घाइते भएको कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रहेका थिए । सोही मुद्दामा जेल परेका लामा २०७६ मा प्रजातन्त्र दिवसमा जेलमुक्त भएका थिए । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update