Khabar Out
कर्णाली राजमार्ग अलपत्र पार्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला । जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार, काम नगर्ने ६ वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

सडक डिभिजनसँग उक्त राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष २०७५ देखि २०८० सालसम्म सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरी पठाइएपछि ६ वटा निर्माण कम्पनी कालोसूचीमा परेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सडक डिभिजनले सिफारिस गरेका तीनवटा निर्माण कम्पनीमध्ये ‘विनम्र निर्माण सेवा सुर्खेतलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई दुई वर्षका लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक सूचना शनिबार जारी गरिएको प्रमुख महताराको भनाइ छ ।

यसैगरी शंकरमाली निर्माण सेवा काठमाडौं र मान शाही निर्माण सेवा कालीकोटलाई तीन–तीन वर्ष तथा कश्यप निर्माण सेवा काठमाडौंलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सूचना बुधबार सार्वजनिक भएको सडक डिभिजन कार्यालयका  सबइन्जिनियर वीरेन्द्र रावलले बताए ।

कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update