काठमाडाैँ। अमेरिकी रक्षामन्त्री पीट हेग्सेथले अमेरिकी सेनाका जनरल र एडमिरलको सङ्ख्या २० प्रतिशतले घटाइएको बताएका छन्। उनले यो कदमलाई सैन्य नेतृत्वमा ‘जवाफदेहिता’ कायम गर्दै सेनालाई युद्धका लागि थप केन्द्रित, अनुशासित र तयार बनाउने प्रयासका रूपमा प्रस्तुत गरे।
क्वान्टिको सैन्य आधारमा सम्बोधन गर्दै उनले जनरल र एडमिरलमध्ये १० प्रतिशतलाई हटाइएको तथा जनरल अफिसरका पदसमेत थप १० प्रतिशतले घटाइएको जानकारी दिए। उनले अघिल्लो प्रशासनका ‘वामपन्थी विचारधारामुखी’ नीतिभन्दा युद्धमा केन्द्रित सैन्य संरचना निर्माण गर्ने प्रयासमा साथ नदिएका अधिकारीहरू परिवर्तनको प्रक्रियामा परेको बताए।
हेग्सेथले सन् २०२५ को मेमा जनरल र एडमिरलको सङ्ख्यामा १० प्रतिशत तथा चारतारे उच्च पदमा २० प्रतिशत कटौती गर्ने आदेश दिएका थिए। तर सोही वर्षको मे अन्त्यमा ८३१ रहेका सक्रिय जनरल र एडमिरलको सङ्ख्या सन् २०२६ को जुलाई अन्त्यसम्म ८५१ पुगेको पेन्टागनको तथ्याङ्क छ । २० प्रतिशत कटौती पूर्ण रूपमा कार्यान्वयन भएको हो वा प्रक्रिया जारी छ भन्नेबारे पेन्टागनले हेग्सेथको भनाइबाहेक थप जानकारी दिएको छैन।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को सुरुदेखि अमेरिकी सेनाको वरिष्ठ नेतृत्वमा व्यापक परिवर्तन गरेका छन्। संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनसहित सेना, नौसेना र तटरक्षक बलका प्रमुख तथा अन्य वरिष्ठ अधिकारी पदबाट हटाइएका वा परिवर्तन गरिएका थिए । यसप्रति डेमोक्रेटिक सांसदहरूले राजनीतिक रूपमा तटस्थ मानिने अमेरिकी सेनाको सम्भावित राजनीतिकरणबारे चिन्ता व्यक्त गर्दै आएका छन्।
यसैबिच हेग्सेथले ‘युद्धको भविष्य’ अध्ययन गर्न ‘प्रोजेक्ट मेरिडियन’ घोषणा गरेका छन्। पेन्टागनका शीर्ष प्रविधि अधिकारी एमिल माइकलको नेतृत्वमा रहने परियोजनामा प्रविधि व्यवसायी एलन मस्क, रक्षा प्रविधि कम्पनी एन्डुरिल इन्डस्ट्रिजका सहसंस्थापक पाल्मर लकी र प्रतिनिधिसभा पूर्वसभामुख न्युट गिङ्ग्रिच सहनेतृत्वमा रहनेछन्।
परियोजनाले अमेरिकाले आवश्यक ठान्ने भविष्यका सैन्य क्षेत्र र क्षमताको पहिचान गर्नेछ । यसमा निजी क्षेत्रका नेतृत्वकर्ता तथा विषयविज्ञ सहभागी हुने र निष्कर्ष १२० दिनभित्र पेस गर्ने अपेक्षा गरिएको छ । रासस






