जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार,शल्यक्रिया,प्रसूति,चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक पर्ने रगत स्थानीयस्तरमै उपलब्ध हुने प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृतले अमृत भण्डारीले जानकारी दिए ।
प्रतिष्ठान र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहकार्य तथा सहयोगमा रक्तसञ्चार सेवा स्थापना गरी शुक्रबारबाट सञ्चालनमा आएको छ । बिरामीलाई रगत आवश्यक पर्दा सेवाग्राही तथा आफन्तलाई निकै सकस हुने गरेको थिए । अब प्रतिष्ठानमै आवश्यक परेका बिरामीलाई तत्कालै रक्त उपलब्ध हुने प्रतिष्ठानका निर्देशक डा वनम्र विष्टको भनाइ छ ।
प्रतिष्ठानको नयाँ रक्त सेवा सञ्चालनले विशेष गरी आकस्मिक उपचार र शल्यक्रियाका बिरामीलाई रगत उपलब्ध गराउन सहज हुने प्रतिष्ठानले जनाएको छ । रगतको आवश्यकता पूर्ति गर्न नियमित रक्तदानमा सहभागी हुन सबैलाई प्रतिष्ठानले आह्वान गरेको छ ।रासस







