काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको सञ्चालन, सञ्चालक समितिको वैधानिकता, आर्थिक कारोबार तथा विभिन्न निर्णयमाथि प्रश्न उठाउँदै शेयरधनीहरूले स्वतन्त्र छानबिन र फरेन्सिक अडिट गर्न माग गरेका छन् ।
सम्बन्धित निकायमा बुझाइएको पत्रमा कम्पनीका आर्थिक कारोबार, सञ्चालक समितिका निर्णय, नियुक्ति, पारिश्रमिक तथा सुविधालगायतका विषयमा विस्तृत छानबिन गर्न माग गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ को साधारणसभाबाट गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नगर्नुको कारण सार्वजनिक गर्न तथा २०८१/०८२ र २०८२/०८३ को साधारणसभा समयमा नगर्नुको कारणसमेत छानबिन गर्न माग गरिएको छ ।
शेयरधनीहरूले सञ्चालक समितिको कार्यकाल र वैधानिकतामाथि समेत प्रश्न उठाउँदै पदावधि सकिएपछि भएका निर्णय तथा कामकारबाहीको कानुनी परीक्षण गर्न माग गरेका छन् । साथै, तत्काल साधारणसभा बोलाई विधिसम्मत रूपमा सञ्चालक समितिको निर्वाचन गर्न आग्रह गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कम्पनीमा खटाउँदा दिइएको पारिश्रमिक तथा सुविधामा दोहोरोपन भए–नभएको र प्रमुख कार्यकारी अधिकृतको नियुक्ति, पारिश्रमिक तथा सुविधासम्बन्धी विषयमा समेत छानबिन गर्न माग गरिएको छ ।
कम्पनीका महत्वपूर्ण वित्तीय कारोबार, नियुक्ति, पारिश्रमिक तथा सञ्चालक समितिका निर्णयहरूको आवश्यकता अनुसार विशेष परीक्षण तथा फरेन्सिक अडिट गर्नुपर्ने शेयरधनीहरूको माग छ । अनियमितता वा कम्पनीलाई क्षति पुगेको प्रमाणित भए जिम्मेवार पदाधिकारीबाट रकम असुलउपर गरी कानुनबमोजिम कारबाही गर्नसमेत उनीहरूले माग गरेका छन् ।
यसैबीच, प्राधिकरणले विगत १७ वर्षदेखि एउटै व्यक्तिलाई जिम्मेवारी दिइरहेको, कम्पनीले समयमा साधारणसभा नगरेको तथा अर्बौं रुपैयाँ बेरुजु रहेको दाबीसमेत गरिएको छ । कम्पनीमा विगत १६ वर्षदेखि कार्यरत भनिएका गोपाल रञ्जितसँग यस विषयमा प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन ।







