म्याग्दी । धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन पुर्जा मगर प्रायः भेडीगोठमै भेटिन्छन्। हिउँदमा बेँसी र बर्खामा बुकीका खर्कमा घुम्ती गोठमा भेडाबाख्रा गोठालो गर्नु उनको दैनिकी हो। केही वर्षअघिसम्म रोजगारीको खोजीमा सहरमा भौँतारिएका पुर्जा अहिले भेडापालनमै आफ्नो भविष्य खोजिरहेका छन्।
कक्षा ९ सम्म मात्रै पढेका आस्मनले पोखरा, नयाँपुल र बेनीमा रेष्टुरेन्टमा काम गरे। ती सबै काम छाडेर उनी गाउँमै भेडापालन गर्न फर्किएका हुन्।
पुर्जाले भने, ‘आफ्नै माटोमा सम्भावना छन् भन्ने लागेर भेडापालन सुरु गरेको हुँ। मेरो स्वदेशमै आत्मनिर्भर बन्ने सपनालाई आर्थिक लगानीको जरुरी थियो, त्यही बेला कोरियामा रहनुभएका साथी अनिल पाइजाले साथ दिनुभयो र यो सम्भव भएको हो।’ किसानी मावि बिममा पढ्दाका सहपाठी अनिलले भेडापालनका लागि सुरुआती लगानी गरिदिएपछि उनको भेडापालन गर्ने सपना पूरा भएको हो ।
- साथीको साथ र लगानी
भेडापालनमा करिब रु १३ लाख लगानी गरेका पुर्जालाई साथी अनिलले मात्रै करिब रु ६ लाख सापटी दिएका छन् भने बाँकी रकम उनले आफैँले जुटाएका छन्। उनको गोठमा हाल करिब १०० भेडा छन् र यो सङ्ख्या थपिने क्रममा छ। यही याममा मात्र उनका करिब २५ भेडा ब्याउने तयारीमा छन्। निकट भविष्यमा भेडाको सङ्ख्या बढाएर भेडीगोठलाई आम्दानीको मुख्य स्रोत बनाउने पुर्जाको योजना छ।
जेठदेखि असोजसम्म जिरबाङ पिक, बुकी र मूलखर्कका हरियालीमा राखिने भेडीगोठलाई हिउँद लागेपछि सिङकोस गाउँ वरपर झारिन्छ। स्थानीय बासिन्दाले देवीदेवताको भाकल पूरा गर्न 'साँढ' (पारा) ले पूजा गर्ने चलन भएकाले भेडीगोठमा उत्पादन भएका साँढका लागि बजारको अभाव छैन। खसी भने मासुका लागि गाउँलेहरूले गोठमै पुगेर खरिद गर्छन्।
‘बुबाले पनि घुम्तीगोठमा भैँसीपालन गर्नुभएको हो, सानोमा पनि म दाइहरूसँग गोठमा बसेको थिएँ, आफ्नै पुर्खाको माटोमा पसिना बगाउन पाइरहेको छु,’ उनले भने।
पुर्जाको यो भेडापालनले युवाहरूले विदेशमा गएर मात्र सम्भावना खोज्नु पर्दैन, आफ्नै गाउँमा पनि अवसरहरू छन् भन्ने सन्देश दिएको स्थानीयवासी बताउँछन्। उनको परिवारमा बुबा मनलाल (७१ वर्षीय) ले अझै चोयाको डोको, डालो बुन्छन् भने दुई छोराले बाख्रापालन, एक छोराले गोठमा भैँसीपालन र अन्य दुई छोराले गाउँमा च्याउ, टुसालगायत बिक्री गरेर जीविकोपार्जन गरिरहेका छन् । रासस


