Khabar Out
शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मालाई महर्षि वैदिक फाउन्डेसनद्वारा अभिनन्दन

काठमाडौं । नेपाल महर्षि वैदिक फाउन्डेसनले शिक्षाविद् प्रा.डा. सुरेशराज शर्मालाई अभिनन्दनसहित विशेष सम्मान गरेको छ ।

अक्षय तृतीयाको अवसरमा आज (वैशाख ७) दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा आयोजित समारोहमा फाउन्डेसनका संस्थापक अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले प्रा.डा. शर्मालाई नगदसहित सम्मान प्रदान गरेका हुन् ।

ब्रह्मानन्द सरस्वती ग्रामको प्रागणमा सम्पन्न कार्यक्रममा पत्रकार, साहित्यकार, चिकित्सक लगायत समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका प्रा.डा. शर्माले आफूलाई सम्झेर सम्मान गरेकोमा फाउन्डेसनप्रति आभार व्यक्त गर्दै संस्थाको आगामी प्रगतिको कामना गरे ।

कार्यक्रमको उद्घाटन स्वस्तिवाचनसहित दीप प्रज्ज्वलन गरी संयुक्त रूपमा गरिएको थियो । कार्यक्रमको प्रारम्भ तथा गुरुपूजन मिनराज अधिकारीले गरेका थिए भने अक्षय तृतीयाबारे ध्यान प्रशिक्षण गुरु माधव अर्यालले जानकारी गराएका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन ध्यान प्रशिक्षण गुरु भरतराज पौडेलले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा आजीवन तथा मानार्थ सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । अक्षय तृतीयाबारे प्रवचन प्रा.डा. वीणा पौड्यालले दिएकी थिइन् भने सम्मानित शिक्षाविद् प्रा.डा. शर्माको योगदानबारे प्रा.डा. जयराज आचार्यले प्रकाश पारेका थिए ।

कार्यक्रममा स्वदेश तथा विदेशबाट अतिथिहरूको उपस्थिति रहेको थियो। विदेशी अतिथिहरूमा डा. राजा किङ्स्ले ब्रुक्स, डा. निल प्यास्टरसन, डा. गिरिश मोमाया, राजराजेश्वरी रोअन, राजराजेश्वरी ट्रेया, सिद्धि एडमिन अर्जुन जेना र मञ्जुलता जेना लगायत सहभागी थिए । त्यसमध्ये डा. ब्रुक्स, डा. प्यास्टरसन र डा. मोमायाले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, डा. सूर्य ढुंगेल, वसन्ती डंगोल, रमेशराज अर्याल, कल्याण ढुंगेल, मुकुन्दराज शर्मा, वरिष्ठ पत्रकार विष्णु निष्ठुरी, इन्जिनियर अर्जुन कोइराला, वरिष्ठ अधिवक्ता पुण्यप्रसाद अर्याल, प्रा.डा. सरिता श्रेष्ठ तथा पूर्व सांसद एल.पी. साँवा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै फाउन्डेसनका अध्यक्ष डा. बास्कोटाले कार्यक्रममा सहभागी भई सहयोग पुर्‍याउने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरे । साथै, फाउन्डेसनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक वर्ष अक्षय तृतीयाको अवसरमा विशिष्ट व्यक्तित्वलाई अभिनन्दनसहित विशेष सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३  २२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update