Khabar Out
संयुक्त खस क्षेत्री नेपालको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा

काठमाडौं । संयुक्त खस क्षेत्री नेपालले आफ्नो चौथो राष्ट्रिय महाधिवेशन भोलि (बैसाख ११ गते) काठमाडौंमा आयोजना गर्ने भएको छ । संगठनले देशभरका प्रतिनिधि तथा सदस्यहरूको सहभागितामा महाधिवेशन गर्न लागेको हो ।

महाधिवेशनमार्फत संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी कार्यदिशा तय गरिने जनाइएको छ । अध्यक्ष पदका उम्मेदवार अर्जुनबहादुर अधिकारीले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै संगठनलाई थप सुदृढ, एकीकृत र प्रभावकारी बनाउने बताएका छन् ।

संगठनले नेपाली समाजमा खस क्षेत्री समुदायको एकता, पहिचान र अधिकारको संरक्षणलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाउँदै आएको छ । महाधिवेशनमा प्रस्तुत प्रतिबद्धता–पत्रमा राष्ट्रिय एकता सुदृढ गर्ने, भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने, सामाजिक न्याय र समानताको पक्षमा आवाज उठाउने लगायतका विषय समेटिएका छन् ।

यसैगरी, संगठनले शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सुरक्षाका क्षेत्रमा समुदायको पहुँच विस्तार गर्न पहल गर्ने जनाएको छ । देशको वर्तमान परिवेशमा एकजुट भएर समुदायको हकहित र पहिचान जोगाउन आवश्यक रहेको संगठनको धारणा छ।

महाधिवेशनले संगठनको आगामी रणनीति निर्धारण गर्नुका साथै राष्ट्रिय मुद्दामा स्पष्ट धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  २३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update