काठमाडौं । वरिष्ठ साहित्यकार तथा शिक्षाविद् स्वर्गीय लक्ष्मण राजवंशीको पाँचौं स्मृति दिवस श्रद्धाञ्जली सभासहित सम्पन्न भएको छ । लोकतन्त्र दिवसकै दिन पारेर आयोजना गरिएको उक्त कार्यक्रम बालाजु–बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युटको प्रांगणमा सम्पन्न भएको हो ।
नेपाल भाषा, नेपाली र अंग्रेजी भाषामा तीन दर्जनभन्दा बढी कृति लेखेका राजवंशी संविधानसभा सदस्य तथा शिक्षा क्षेत्रका उदाहरणीय व्यक्तित्वका रूपमा परिचित थिए । सामान्य परिवारमा जन्मिएर शिक्षा र साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका राजवंशीको २०७८ साल वैशाख ११ गते ८६ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । १९९२ सालमा काठमाडौंको वटुमा जन्मिएका उनी २०७० सालको संविधानसभाका सदस्यसमेत रहेका थिए भने सिद्धार्थ वनस्थली इन्स्टिच्युटका संस्थापक प्राचार्य थिए ।
पूर्व विद्यार्थी तथा सिद्धार्थ वनस्थली इन्स्टिच्युट व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थामा तीन दशकसम्म अध्यापन गराएकी पूर्व शिक्षिका सारदा महरठालाई नगद २५ हजारसहित विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा स्व. राजवंशीका परिवारजन, शिक्षक–कर्मचारी, विद्यार्थी, पत्रकार तथा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा उनका छोरा तथा प्राचार्य रुपक राजवंशीले पिताका विद्यार्थीहरू आज राज्यका उच्च निकायमा पुग्न सफल भएको सुन्दा गर्व लागेको उल्लेख गर्दै पिताले देखाएको मार्गअनुसार बाँकी सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि डा. श्रेष्ठले आफ्नो पनि गुरु स्व. राजवंशीको योगदानको व्याख्या कहिल्यै नसकिने बताउँदै उहाँले स्थापना गरेको शैक्षिक संस्था र साहित्यिक धरोहरलाई अझ सशक्त र व्यापक बनाउनुपर्नेमा जोड दिए । साथै, हरेक वर्ष स्मृति दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, शिक्षक तथा राष्ट्रलाई योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा निरन्तरता दिइने जानकारी गराए ।
कार्यक्रममा सहप्राध्यापक सुनिता सिंहले सम्मानित व्यक्तित्व सारदा महरठाको योगदानबारे चर्चा गर्दै सम्मानपत्र वाचन गरेकी थिइन् ।
यसैबीच, कार्यक्रममा वक्ताहरूले स्व. लक्ष्मण राजवंशीले शिक्षा र साहित्य क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए । उनीहरूले राजवंशीले स्थापित गरेका मूल्य–मान्यता, अनुशासन र समर्पणको भावना आजका पुस्ताका लागि पनि उत्तिकै प्रेरणादायी रहेको उल्लेख गरे । श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा वक्ताहरूले स्व. राजवंशीसँग बिताएका विभिन्न क्षणहरूको स्मरण गर्दै व्यक्तिगत अनुभवहरू समेत साझा गरेका थिए ।
उनीहरूले राजवंशीको शिक्षाप्रतिको समर्पण, समाजप्रतिको जिम्मेवारी र लोकतान्त्रिक मूल्यप्रतिको आस्था सधैं स्मरणीय रहने बताउँदै स्व. राजवंशीका अधुरा सपना पूरा गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।







