Khabar Out
मिथिलामा छठ पर्वको तयारी सुरु

धनुषा । मिथिला क्षेत्रको सबैभन्दा ठुलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । चार दिनसम्म मनाइने यस पर्वका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम तीव्र गतिमा भइरहेको छ ।

जनकपुरधाममा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर र मटकोरर्वा पोखरीजस्ता जलाशयहरूमा सजावटको काम भइरहेको छ ।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले गत वर्षजस्तै यो वर्ष पनि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको सरसफाइ र सजावटका साथै व्यवस्थापन पनि विगतभन्दा राम्रो बनाइएको जानकारी दिए। गुप्ताका अनुसार यो वर्ष प्रतिअर्घ रु ६०० सहयोगस्वरूप निर्धारण गरिएको छ । सबैले सहयोग नदिए पनि अर्घ राख्ने गरेका छन् र प्रत्येक वर्ष सहयोगबाटै व्यवस्थापन खर्च निस्किरहेको उनको भनाइ छ। गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा छ भने झिलिमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीनवटा समितिले सजावटको काम गरिरहेका छन् ।

यस्तै, अरगजा सरमा छठको घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि नै आफूहरू तयारीमा जुटिसकेको बताए । उनले सजावट र सरसफाइका लागि काम भइरहेको जानकारी दिए । कर्णले यो पोखरीमा हिन्दू मात्र नभई मुस्लिम समुदायका केही व्यक्तिहरूले पनि अर्घ राख्ने गरेको जानकारी दिए। उनले अर्घ राख्नेहरूसँग सहयोगस्वरूप रकम लिने गरिएको भए पनि कुनै किसिमको दबाब नहुने र आर्थिक सहयोगका लागि आग्रह मात्र गरिने बताए ।

यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ रहने गरेको र यो सङ्ख्या प्रत्येक वर्ष बढ्ने गरेको उनको भनाइ छ। शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ ।

मिथिलाञ्चल क्षेत्रमा मनाइने यो पर्व पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर रहन्छ । आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामलजस्ता अन्नको व्यवस्था गरेर त्यसलाई धोई-पखाली घरकै जाँतोमा पिसेर त्यसको पिठोबाट छठका सामग्रीहरू बनाउने गरिन्छ ।

पर्व नजिकिएसँगै बजारमा विभिन्न सामग्री किन्नेहरूको भीड लागेको छ । जनकपुरधामका बजारहरूमा बाँस र माटोबाट बनेका सामग्रीहरू जताततै बिक्री भइरहेका छन् । छठ पर्वमा बाँस तथा माटोबाट बनेका सामानलाई शुद्ध मानिने भएकाले यसको माग बढेको छ । मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती र बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतका सामान किन्न व्यस्त छन् ।

चार दिनसम्म मनाइने यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्छ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको व्यवस्था गरी साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ । यस्तै, छठ पर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर पर्वको समापन गरिनेछ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update