Khabar Out
कक्षा १२ को परीक्षा आजदेखि सुरु , चार लाख १८ हजार बढीले परीक्षा दिदै

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयअन्तर्गत नयाँ तथा पुरानो पाठ्यक्रमका साथै ग्रेड वृद्धि परीक्षार्थीहरू सहभागी भएका छन् ।

बोर्डका अनुसार वैशाख २७ गतेसम्म सञ्चालन हुने यस परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा दिने व्यवस्था भने गरिने छैन ।

यस वर्ष नियमिततर्फ तीन लाख ३२ हजार १७८ विद्यार्थी सहभागी भएका छन्। जसमध्ये एक लाख ७२ हजार १२ छात्र, एक लाख ६० हजार १३७ छात्रा र अन्य २९ जना छन्। त्यस्तै आंशिकतर्फ ८५ हजार ८३० परीक्षार्थी सहभागी भएका छन् । यसरी कुल चार लाख १८ हजार ८ जना परीक्षामा सहभागी हुनेछन् ।

जिल्लागत रूपमा हेर्दा सबैभन्दा कम मनाङमा ३१ जना र सबैभन्दा बढी काठमाडौंबाट ६४ हजार ३३ परीक्षार्थी सहभागी भएका छन् ।

देशभर एक हजार ४२० तथा जापानमा एक गरी कुल एक हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । तीमध्ये सबैभन्दा बढी काठमाडौंमा १६१ केन्द्र रहेका छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र मात्र कायम गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  ०९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update