Khabar Out
रियल सोसिडाडलाई हराउदै बार्सिलोना शीर्ष स्थानमा

काठमाडौं । साविक विजेतासमेत रहेको बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा रियाल सोसिडाडविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै शीर्ष स्थान हासिल गरेको हो । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जुलेस काउन्डे र रोबर्ट लेवान्डोवस्कीले गोल गरे । पाहुना टिमका अल्भारो ओड्रियोजोलाले गोल गरेका थिए । 

खेलको ३१औँ मिनेटमा ओड्रियोजोलाको गोलमा सोसिडाडले अग्रता बनाएको थियो । तर, ४३औँ मिनेटमा काउन्डेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै खेलमा फर्कियो । 

यस्तै, ५९औँ मिनेटमा लेवान्डोवस्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले तीन अंक पक्का गरेको हो । जितसँगै सात खेलबाट १९ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ । बार्सिलोनाले समान खेलबाट १८ अंक जोडेको रियाल मड्रिडलाई पछि पारेको हो । 

यसअघि शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिडसँग ५–२ ले पराजित भएपछि रियालले तीन अंक गुमाएको थियो । यता, सात खेलबाट पाँच अंक जोडेको सोसिडाड भने तालिकाको १७औँ स्थानमा छ ।

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update