हुम्ला । मुगुको सोरु गाउँपालिका भीईमा आयोजना गरिएको फुटबल खेलको सुरुआतमै आपसी कुटाकुट हुँदा चारजना घाइते भएका छन् । घाइते भएका तीनजनालाई हेलिकोप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।
वडादसैँका अवसरमा अलस्टार युवा क्लबद्वारा शुक्रबार आयोजित उक्त फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै आपसी झडप भएको थियो । उक्त गाउँपालिका–३ का पवन कार्की लगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजंग धामीलाई गम्भीर चोट लागेको थियो । झडपमा परी गम्भीर घाइते भएकामध्ये तीनजनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पुर्याएको प्रजिअ खत्रीले बताए ।
उक्त घटनाबारे वडाध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा आफू नभएकाले खासै जानकारी नभएको बताए । तर, गत वर्षको पुरस्कार नदिएको भन्दै यसअघि खेलाडीहरू रिसाएकाले कुटाकुट भएको भन्ने आफूले सुनेको उनले बताए ।
घटनाको मुचुल्का गर्न पुगेका सोरुबर्मा प्रहरी चौकी इन्चार्ज देबबहादुर खड्काको टोली घटनास्थल पुगेको छ । तत्काल घटनाको यथार्थबारे केही भन्न नसकिने अवस्था रहेको इन्चार्ज खड्काले बताए ।
प्रजिअ खत्रीका अनुसार, उक्त घटना विगतकै विवादका कारण भएको बताए । केही समय अगाडि पनि सो समूहबीच कुटाकुट भएको थियो । तर, आजको घटनामा धारिलो हतियार प्रयोग गर्ने पवन कार्की भनिने व्यक्ति केही महिनाअघि मात्र जेलबाट छुटेको बताए । रासस


