काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा कार्यरत तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ ।
बैंकले प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त योजना ल्याएको जनाएको छ । नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै बैंकले विप्रेषणमार्फत प्राप्त रकमलाई बैंकिङ प्रणालीमा परिचालन गरी निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न निरन्तर पहल गर्दै आएको बताएको छ ।
बैंकका अनुसार, प्रवासी नेपालीको दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्न तथा औपचारिक बैंकिङ प्रणालीमार्फत विप्रेषणलाई थप प्रभावकारी रूपमा परिचालन गर्ने लक्ष्यसहित यो योजना सञ्चालनमा ल्याइएको हो । यसले घर तथा जग्गा खरिदका लागि आवश्यक वित्तीय स्रोतमा सहज पहुँच प्रदान गर्नुका साथै बैंकसँग दीर्घकालीन सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
योजना अन्तर्गत घर कर्जाको अधिकतम सीमा ३ करोड रुपैयाँसम्म निर्धारण गरिएको छ भने कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ । कर्जा सेवा शुल्क ०.५० प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ । साथै, देशभर रहेका ३०० शाखामार्फत यो सुविधा उपलब्ध हुनेछ ।
यस योजनाबाट घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा लिन सकिनेछ । साथै, ग्राहकका बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न शैक्षिक कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । शैक्षिक कर्जामा प्रशासनिक शुल्कमा ५० प्रतिशत छुटका साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा पनि प्रदान गरिनेछ ।
प्रभु बैंकले यस योजनामार्फत विदेशमा रहेका नेपालीलाई आफ्नो तथा परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण तथा खरिदमा वित्तीय सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । साथै, औपचारिक माध्यमबाट विप्रेषण परिचालन, निक्षेप अभिवृद्धि, उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह तथा दीर्घकालीन ग्राहक सम्बन्ध विस्तारमा समेत योगदान पुग्ने बैंकको अपेक्षा छ ।






