Khabar Out
पाल्पा गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु

पाल्पा । यहाँको तानसेन नगरपालिका-८, भालेबासस्थित सिद्धार्थ राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये एक जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका-४ की ६३ वर्षीया अनुसरा खाम्चाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको अस्पतालका निमित्त निर्देशक अनुप आचार्यले जानकारी दिए ।

बुटवलबाट तानसेनतर्फ आउँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आज दिउँसो दुर्घटना हुँदा खाम्चा गम्भीर घाइते भएका थिए । दुर्घटनामा चालकसहित पाँच जना घाइते रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

उनका अनुसार पूर्वखोला गाउँपालिका-१ का २९ वर्षीय चालक नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका-४ घर भई हाल तानसेन नगरपालिका-४ भगवतीटोल बस्ने २८ वर्षीया मनकुमारी सारु, उनकी सात वर्षीया छोरी साहिरस सारु र मृतक अनुसरा खाम्चाकी पाँच वर्षीया नातिनी सायरा खाम्चा घाइते भएका छन् ।

घाइते पाँचै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । गाडी आफैँ अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update