
काठमाडौँ । हैजा नियन्त्रणका लागि प्रभावित क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि पठाएको छ ।
हैजा प्रभावित क्षेत्रहरूका लागि आवश्यक पर्ने कोलेरा किट आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
देशका विभिन्न स्थानमा हैजाको प्रकोप देखिएसँगै यसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सो अवसरमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाको प्रकोप देखिएका स्थानहरूमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको र थप स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले तीव्र रूपमा कार्य गरिरहेको बताए । “हैजाको प्रकोप देखिएका स्थानहरूमा हामीले तत्कालै विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोली परिचालन गरिसकेका छौँ,” उनले भने, “हैजा प्रभावित क्षेत्रको अवस्थाका बारेमा निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार थप स्रोतसाधन परिचालन गर्न मन्त्रालय तयारी अवस्थामा रहेको छ।”
हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिकलगायत ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन् ।
विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको उक्त किटलाई मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागमार्फत हैजा प्रभावित जिल्लाका अस्पताल, स्वास्थ्य कार्यालय तथा स्थानीय तहमा तुरुन्तै पठाउने व्यवस्था मिलाइएको छ ।
केही समयअघि स्वास्थ्यमन्त्री पौडेलले हैजा प्रभावित वीरगञ्जको स्थलगत अनुगमन गरी बिरामीको निःशुल्क उपचार, औषधि, जीवनजल र अन्य आवश्यक स्वास्थ्य सामग्रीको मन्त्रालयमार्फत व्यवस्था गरेका थिए । मन्त्रालयले हैजाको प्रकोप नियन्त्रणका लागि सम्बन्धित प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरिरहेको जनाएको छ ।