Khabar Out
चोरीएका सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन ९ मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज  अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन ।।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर, हात्तिसार ,एयरपोर्ट, सिफल, पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका ४१ ओटा सहित ५२ ओटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा
लगाइसकेको छ । चोरीका २ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ३ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

आर्थिक वर्ष २०८० र ०८१ मा ४१७ ओटा र ०८१ र ०८२ मा ५ सय ३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक दिपक गिरीले अनुरोध गरेका छन।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३,नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update