Khabar Out
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहाडको जोखिमपूर्ण भाग झार्न थालिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गातर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्‍याइएको थियो । उक्त एक्साभेटरले आइतबारदेखि डाँडाको जोखिमपूर्ण र खस्न सक्ने ढिस्को काट्न थालेको हो ।

निर्माण कम्पनी शर्मा जेडआईसिजी जेभीका इन्जिनियर ईश्वर नेपालका अनुसार करिब १०० मिटर अग्लो स्थानमा एक्साभेटर पुर्‍याएर पहाड काट्न थालिएको छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन रोकेर काम भइरहेको उनले जानकारी दिए । डाँडालाई तहगत रूपमा कटान गर्दै एक्साभेटर तल झारिने उनको भनाइ छ ।

“डाँडाको अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबारसम्म अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएको समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फको भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ । यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भने ।

उनका अनुसार चुम्लिङटार र कुरिनटारको बीचमा पर्ने डाहाकी खोलामा पनि सडक चौडा गर्न थालिएको छ । “त्यहाँ १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुईवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सक्ने गरी सवारी आवागमन रोकेर निर्माण कम्पनीलाई काम गर्न ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भाग झार्न लागिएको उनको भनाइ छ । सवारी रोकिएको समयमा सडक विस्तार गर्नुपर्ने स्थानमा पनि काम गर्न भनिएको उनले जानकारी दिए ।

झन्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी आवागमन रोकिने गरेको छ भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ ।

घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । राजधानी भित्रिने र बाहिरिने सवारीसाधन यही सडक हुँदै आवतजावत गर्छन् । यस सडकमा दैनिक एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update