Khabar Out
अब रोपाइँ पनि ठेक्कामा !

गलकोट । काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् । 

गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी तीन हजार २६६ रुपैयाँमा ठेक्का लिएर उनीहरूले रोपाइँको चाजोपाजो मिलाएका हुन् ।

खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन्, तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ ।

घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर छ लाख १७ हजार ४०० आर्जन मात्र गरेनन् १० जनालाई रोजगारी पनि दिए । किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर छ लाख सात हजार ६०० रुपैयाँ कमाए ।

उनले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गरे । नयाँ अवधारणाका साथ बाझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उनीहरूलाई वडाले एउटा मिनी टेलर उपहार दिने घोषणा गरेको छ ।

बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, ‘प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।’ रासस

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update