
काठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी वार्षिक घटना विवरणको सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले मानवस्रोत तथा स्रोत साधन व्यवस्थापन, प्रहरी कार्य शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध अनुसन्धान र नवीनतम् प्रयासहरू भएको बताए।
भद्रकालीस्थित नयाँ भवनबाट नविनतम प्रयास स्वरुप नागरिक सहजताको लागि डिजिटल इन्ट्री सिस्टम सहितको नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको र नविनतम प्रयास स्वरुप प्रहरी कर्मचारीको लागि पुलिस डिजिटल डायरी कार्यान्वयनमा ल्याएको हुदा कुन प्रहरी कर्मचारीले दैनिक रुपमा के–के काम सम्पन्न गरेका छन् भन्ने बारेमा जानकारी लिन सकिने पनि एसएसपी अधिकारीले बताए ।
गत आर्थिक वर्षमा काठमाडौंमा दुई हजार ७२२ वटा आगलागीका घटना भएको जसको विपद् व्यवस्थापनका लागि काठमाडौं प्रहरीले उल्लेख्य काम गरेको बताए ।
सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा
आर्थिक वर्ष २०८१–०८२ मा काठमाडौँ जिल्ला भरमा १२ हजार ९१५ मुद्दा दर्ता भएको छ । अपराधमा संलग्न ८ हजार ५२० जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । २०८१ साउन देखी २०८२ असार मसान्तसम्ममा महाराजगञ्ज वृत्तमा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् ।
काठमाडौँमा एक वर्षको अवधिमा सबैभन्दा धेरै बैंकिङ कसुरको मुद्दा दर्ता भएको छ । गत आर्थिक वर्षमा ६ हजार ५५३ बैंकिङ कसुर मुद्दा दर्ता भएको एसएसपी अधिकारीले जानकारी दिए । गत वर्ष अभद्र व्यवहार सम्बन्धी १ हजार ९५३ मुद्दा दर्ता भएका छन् ।
१८१ जना पुरस्कृत हुदा १५८ जना कारबाहीमा
काठमाडौँ प्रहरीले गत आर्थिक वर्षमा राम्रो कार्यसम्पादन गर्ने १६१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । जसमा प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् ।
यस्तै १५८ जना कारबाहीमा पर्दा सबैभन्दा धेरै ६० जना छन् । जसमा प्रहरी निरीक्षक २, प्रहरी नायव निरीक्षक ४, प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार ७–७ जनासहित सो सङ्ख्यामा रहेको जनाएको छ ।
हटलाइन नम्बर १०० मा ४ लाख २८ हजार कल
काठमाडौँ प्रहरीले आपत्कालीन हटलाइन नम्बर ‘१००’ मा गत आर्थिक वर्षमा ४ लाख २८ हजारभन्दा बढी कल आएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले १०० नम्बरमा आएका कलहरू प्रहरीको कार्यसम्पादनको महत्त्वपूर्ण आधार बनेको बताए ।
प्रहरीको तथ्याङ्कअनुसार १०० नम्बरमा सबैभन्दा बढी कलहरू झगडा, विवाद, घरेलु हिंसा र कुटपिट जस्ता घटनाहरूसँग सम्बन्धित छन् । यसबाहेक, सवारी दुर्घटना, चोरी, मापसे गरी होहल्ला र आगलागी जस्ता विषयमा पनि ठुलो सङ्ख्यामा कलहरू आउने गरेका छन् ।
प्रहरीले हटलाइनमा आएका कलहरूको आधारमा तत्काल घटनास्थल पुग्ने व्यवस्था मिलाएको छ।
अपराधी खोज्न वर्कशप,मोवाइल पसल र राइड सेयरिङसग सहकार्य
पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ विश्व अधिकारीले अपराध नियन्त्रण गर्न र अपराधीसम्म पुग्न उनले नयाँ ढङ्गले सूचना सङ्कलन गर्ने गरेको बताएका छन् । अपराधीसम्म पुग्न मोटरसाइकल वर्कशपका सञ्चालक र र कामदारहरूबाट सूचना लिएर काम गर्ने गरेको बताए ।
आफू हाजिर भएपछि ६५० जना वर्कशपका सञ्चालक र मिस्त्रीहरूसँग अन्तरक्रिया गरेर सूचना लिन थालेको अधिकारीले बताए । सामाजिक सञ्जालमा वर्कशपमा काम गर्नेहरुहरुको ह्वाट्स एप ग्रुप बनाएर अपराधमा प्रयोग भएको मोटरसाइकल वा स्कुटर कहाँ छ भनेर तत्काल सूचना आउने संयन्त्र बनाएको पनि एसएसपी अधिकारी बताए ।
त्यसैगरी मोबाइल पसल सञ्चालक र राइड सेयरिङ कम्पनीहरूसँग पनि छलफल तथा अन्तरक्रिया गरेर अपराधमा संलग्नहरूको सूचना लिने गरिएको एसएसपी अधिकारीले बताए ।