Khabar Out
देवघाटमा भक्तजनको घुइँचो

नारायणगढ ।  साउन महिनाको दोस्रो सोमबारको अवसरमा आज बिहानैदेखि चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थल देवघाटधाममा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ । 

गण्डकी, त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको हो । साउन महिनाको सोमबारलाई विशेषरूपमा भगवान् शिवको आराधना गर्ने पवित्र दिन मानिन्छ । यसै सन्दर्भमा आज देशका विभिन्न स्थानबाट आएका भक्तजन देवघाटमा बिहानैदेखि पूजाआजा तथा स्नानमा व्यस्त देखिएका छन् । 

श्रद्धालुहरू नदीमा स्नान गरेर व्रत बसेका छन् भने शिव मन्दिरमा पूजा, अर्चना तथा जल चढाउने कार्यमा सहभागी भएका छन् । साउन सोमबारको अवसरमा देवघाटमा बोलबम मेला लाग्ने परम्पराअनुसार आजको दिन विशेष रूपमा उत्सवका रूपमा मनाइएको छ । 

देवघाट क्षेत्र विकास समिति कार्यालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार, साउन महिनाभरि आउने भक्तजनको मोटामोटी तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । 

उनले भने, ‘चितवन र तनहुँ दुवैतर्फ कर्मचारी खटाएर भक्तजनको सङ्ख्याबारे जानकारी लिइन्छ । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तथ्याङ्क सङ्कलनको व्यवस्था छ, तर अन्य समय भक्तजन आउने भएकाले औसत सङ्ख्याको मात्र विवरण आउँछ।’ 

समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार, यसवर्ष दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ । उनले भने, ‘आज बिहानैदेखि पानी परे पनि भक्तजनको उपस्थिति बाक्लो छ । गत वर्ष बाढीपहिरोका बीच पनि झण्डै दुई लाख भक्तजन आएका थिए, यो वर्ष त्योभन्दा सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।’ 

भक्तजनको सुरक्षाका लागि स्थानीय प्रशासन र क्षेत्र विकास समितिको सहकार्यमा ट्राफिक व्यवस्थापन, स्वास्थ्य सहायता र सुरक्षा व्यवस्थापनको व्यवस्था मिलाइएको छ । 

प्रहरी, स्वयंसेवक तथा प्राथमिक स्वास्थ्य टोली तैनाथ गरिएको कार्यकारी निर्देशक बरालले जानकारी दिए । भक्तजनको आगमनसँगै स्थानीय व्यवसायमा चहलपहल बढेको देखिन्छ । देवघाटको चितवन र तनहुँतर्फका दुवै किनारमा फूलमाला, पूजा सामग्री, फलफूल तथा खाजाका पसलमा उल्लेख्य घुइँचो लागेको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update