Khabar Out
मोरङमा जंगली हात्तीको आक्रमणबाट एक वर्षमा पाँच जनाको मृत्यु

मोरङ । मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो । उनीजस्तै एकवर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए । बिहीबार बिहान बेलबारी-१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गरे ।

SRS AD

आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्युु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ । सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एक/एक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका-९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो । वन फडानी, आगलागीलगायत कारणले जङ्गली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घट्ना बढ्न थालेका उनको भनाइ छ ।

गत पुस ५ गते सुन्दरहरैचा-१० की गङ्गामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा-५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताए ।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ । उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ । तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए ।

दुई वर्षदेखि मोरङको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा जङ्गली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए । 'हरेक राति जङ्गली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्', उनले भने ।

जङ्गल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update