Khabar Out
बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी

कैलाली । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भाले पोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ । 

खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी रु छ हजारमा बिक्री गर्ने गरेका छन् ।

SRS AD

बङ्गुर पालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए । ‘बङ्गुर पालन राम्रै फापेको छ’, उनले भने- ‘यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो,अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।’ 

चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष रु ९० हजार अनुदान प्राप्त गरेका छन् । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए । उनी सफल कृषकका रूपमा समेत पुरस्कृत भइसकेका छन् ।

सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठा पाठी बिक्री गर्न थालेको बताए । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, वधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update