Khabar Out
सर्लाही र सिन्धुली जोड्ने सडक पहिरोका कारण अवरुद्ध

सर्लाही । सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। गत शनिबार वर्षासँगै गएको पहिरोबाट बागमती नगरपालिका–११ का विभिन्न तीन स्थानमा सडक पुरिएको हरिहरपुरगढी गाउँपालिका–६ का वडाध्यक्ष एकबहादुर मोक्तानले बताए।

पहिरोले सडकमा क्षति पुर्‍याएसँगै त्यस खण्ड भएर चल्ने यातायातका साधन ठप्प भएका छन्। सडक बन्द भएपछि बिरामीलाई अस्पतालसम्म लैजानसमेत समस्या उत्पन्न भएको छ। अन्तरप्रदेशस्तरीय उक्त सडकले पूर्व–पश्चिम लोकमार्ग र मदन भण्डारी लोकमार्गलाई जोड्छ। कर्मैया–पिपलमाडी १६ किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएपछि यात्री पैदल नै हिँड्न बाध्य भएका छन्।

सडक अवरुद्ध भएपछि हरिहरपुरगढी गाउँपालिका क्षेत्रका विभिन्न एक दर्जन गाउँका सर्वसाधारण दैनिक उपभोग्य वस्तु किनमेल गर्न, औषधि उपचार र अन्य प्रयोजनका लागि टाढा धाएर हेटौँडा वा सिन्धुली जान बाध्य छन्। छोटो सडक पहिरोबाट अवरुद्ध भएपछि सर्वसाधारण लामो बाटो छिचोलेर हेटौँडा पुग्नुपर्ने बाध्यता रहेको व्यवसायी किस्मतराज मैनालीले बताए।

चाडपर्वको मुखमा सडक अवरुद्ध हुँदा उपभोक्ता र व्यापारी दुवैले समस्या झेल्नुपरेको उनको भनाइ छ। कर्मैया–पिपलमाडी सडकमा सञ्चालन हुने बोलेरोसहित अन्य साना सवारी थन्क्याएर बस्नुपरेको यातायात व्यवसायी कर्मा लामाले बताए।

यातायात सेवा अवरुद्ध भएपछि स्थानीय पैदल हिँडेरै आउजाउ गर्न र दाल, चामललगायत खाद्यवस्तु थाप्लोमा बोक्न बाध्य भएको स्थानीयको गुनासो छ। बागमती र मधेस प्रदेश जोड्ने ‘लिङ्क रोड’का रूपमा रहेको कर्मैया–पिपलमाडी सडकखण्डमा चुरेको जोखिमपूर्ण डेढ किलोमिटर सडक सर्लाहीतर्फ रहेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update