काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ।
पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले यही असोज ९ गतेदेखि १८ गतेसम्म कमलादीस्थित प्रतिष्ठान परिसरमा बृहत् पुस्तक प्रदर्शनी–२०८३ आयोजना गर्न लागिएको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले राससलाई जानकारी दिए। प्रदर्शनीमा ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने प्रतिष्ठानले जनाएको छ।
प्रदर्शनीमा सरकारी तथा संस्थागत प्रकाशनका अतिरिक्त निजी प्रकाशन गृह, पुस्तक वितरक तथा सम्बन्धित संस्थाहरूलाई समेत कक्ष राखी आफ्ना प्रकाशन तथा पुस्तक प्रदर्शनी तथा बिक्री–वितरण गर्ने अवसर प्रदान गरिने जानकारी दिइयो।
उक्त प्रदर्शनीमा सहभागी हुन चाहने इच्छुक प्रकाशन गृह तथा संस्थाहरूलाई सहभागिताका लागि प्रतिष्ठानले आह्वान गरेको छ। सहभागिताका लागि इच्छुक प्रकाशन गृह/संस्थाहरूले असोज ७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ।
इच्छुक प्रकाशन गृह/संस्थाले आफ्नो नाम, ठेगाना, सम्पर्क व्यक्ति, सम्पर्क नम्बर तथा इमेल ठेगाना खुल्ने गरी निवेदन पेस गर्नुपर्नेछ। प्रतिष्ठानका अनुसार, प्रदर्शनी कक्षमा नेपाली भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य, लोकसाहित्य तथा अन्य ज्ञानमूलक एवं सिर्जनात्मक विधाका पुस्तक प्राथमिकताका साथ राख्न सकिनेछ।
प्रत्येक सहभागी प्रकाशन गृह/संस्थालाई आयोजकले निर्धारण गरेको मापदण्ड तथा उपलब्धताका आधारमा प्रतिष्ठानले निःशुल्क कक्ष उपलब्ध गराउनेछ । रासस






