
पर्सा । ठोरी गाउँपालिका–३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष पुग्दा पनि नागरिकता प्राप्त गर्न सकिरहेकी थिइनन् । नागरिकता प्राप्त गर्न नसक्दा आफ्नो बालबच्चाको समेत नागरिकता बनाउन सकिनन् । तर, जिल्ला प्रशासन कार्यालयले शनिबार सञ्चालन गरेको एकीकृत सेवा सञ्चालन कार्यक्रममार्फत वैवाहिक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्दा उनमा खुसीको कुनै पनि सीमा नै छैन ।
“हामी नागरिकता बनाउनका लागि इलाका प्रशासन कार्यालय सुपौली पुगेर नागरिकता लिन सक्ने अवस्थामा रहेका थिएनौँ”, उनले भनिन्, “घरदैलोमा आयोजित एकीकृत सेवा सञ्चालनमार्फत नागरिकता प्राप्त गर्दा खुसीको कुनै सीमा नै छैन ।” पर्साको विकट तथा ग्रामीण भेग शिकारीबासकी पुनिया कुमारीले मात्र नभएर आवश्यक कागजात पुगेका ठोरी गाउँपालिका–३ शिकारीबासका आठ जनाले आफ्नो घरदैलोमा नागरिकता प्राप्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विकट ग्रामीण भेगका जनतालाई आफ्नो घरदैलोमा सेवा प्रवाह गर्न ठोरी गाउँपालिकाको विकट भनिने शिकारीबासमा एकीकृत सेवा सञ्चालन कार्यक्रमअन्तर्गत सोही ठाउँका कानुनी प्रक्रिया पुगेका आठ जनाको नागरिकता जारी गरेर वितरण गरेको जानकारी दिए । “ठोरीका शिकारीबासका सर्वसाधारण नागरिकताको प्रमाणपत्र बनाउनका लागि इलाका प्रशासन कार्यालय सुपौली र जिल्ला प्रशासन कार्यालय वीरगञ्ज धाउन पनि नसक्ने सर्वसाधारणलाई गाउँघरमा नै नागरिकताको प्रमाणपत्र वितरण गरेका छौँ”, उनले भने, “प्रशासन कार्यालयसम्म धाउन नसक्ने सर्वसाधारणलाई घरदैलोमा नै सेवा गर्ने कार्य शुभारम्भले प्रशासनले आफ्नो सेवाग्राहीलाई घरदैलोमा सेवा पनि गर्न सक्छ भन्ने गतिलो उदाहरणका रूपमा लिन सकिन्छ।”
जिल्ला प्रशासनकै अगुवाइमा शनिबार शिकारीबासमा पाँच जनासँग जनता आवास कार्यक्रमअन्तर्गत यहाँका पाँच घरधनीसँग आवास निर्माणको सम्झौता पनि भएको छ । पूर्वाधार विकास कार्यालय वीरगञ्जको अगुवाइमा शिकारीबासमा घर नभएका पाँच परिवारसँग प्रतिघर रु तीन लाख ७२ हजारको लागतमा घर निर्माणको कार्य शुभारम्भ गरिएको छ । यसले शिकारीबासमा घरविहीन भएका पाँच परिवारका लागि आवास निर्माणको प्रबन्ध मिलाइएको पूर्वाधार विकास कार्यालयका प्रमुख लालबाबु रायले जानकारी दिए ।
नारायणी अस्पताल वीरगञ्ज, स्वास्थ्य कार्यालय वीरगञ्ज, रुगटा वेलफेयर सोसाइटी, वीरगञ्ज सामुदायिक आँखा अस्पताल, सूर्या हस्पिटल, इम्प्याक्ट्र नेपाल रुगटाँ वेलफेयर नाक कान उपचार केन्द्रलगायतको साझेदारीमा शनिबार नै शिकारीबासमा बृहत स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा एक सय ५० भन्दा धेरै सेवाग्राही लाभान्वित भएका छन् ।
त्यसैगरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनका योजना प्रमुख तथा इञ्जिनियर राकेश साहले शनिबार नै ठोरीको शिकारीबासमा नदी कटान क्षेत्रमा करिव रु १० लाख मूलय पर्ने नदी तटबन्धसहितको झालीको व्यवस्था गर्न लागेको जानकारी दिए । उद्योग विभाग मधेस प्रदेशका महानिर्देशक सुशीलकुमार साहले कार्यालयले आगामी आवमा उद्यमशीलताको विकास गर्न आवश्यक पर्ने तालिमको प्रबन्ध गर्न लागेको जानकारी दिए ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सदैव सहज र सुलभ सेवा प्रदान गर्नका लागि आवश्यक सहजीकरण गर्दै आइरहेको बताए । यस्तै, ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले जिल्ला प्रशासन कार्यालयले एकीकृत शिविर सञ्चालन गरेर जनतालाई सहज सेवा उपलब्ध गराएर सराहनीय कार्य गरेको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख निरञ्जन साह सोनारले जनतालाई घरदैलोमा सेवा प्रवाह गरेर प्रशासन कार्यालयले गतिलो उदाहरण पेस गरेको जानकारी बताए। सोही अवसरमा रुगटा वेलफेयर सोसाइटीले नेपाल राष्ट्रिय प्रावि शिकारीबासमा रहेका विद्यार्थीलाई झोलासहितको शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । नेपाल टेलिकम प्रादेशिक कार्यालय मधेस प्रदेशको अगुवाइमा आगामी दुई महिनाभित्र नेपाल टेलिकमको सेवा पनि सुरुआत गर्ने बताइएको छ । रासस