Khabar Out
खानेपानी योजनाले ल्यायो गाउँमा खुसीयाली

पाल्पा । एक गाग्री पिउने पानीका लागि घण्टौँ समय बिताएका माथिल्लो मनभागा गाउँका स्थानीयलाई अब भने खानेपानीको पिरलो छैन । घरमै धारा जडान गरेर पानी आएपछि स्थानीयको मुहार फेरिएको छ । 

रामपुर नगरपालिका वडा नम्बर १० स्थित माथिल्लो मनभागा गाउँ नगरकै विकट भेगमा पर्छ । वर्षौँदेखि यहाँका स्थानीयले खानेपानीका लागि कष्ट भोग्दै आएका थिए । अहिले रामपुर नगर सरकारको सहयोगमा योजनामार्फत घरघरमा पानी आएको देख्दा स्थानीय खुसीले उत्साहित बनेका छन् । 

यहाँका स्थानीयलाई खानेपानी मात्र नभई घरायसी प्रयोजनका लागि पानीको उत्तिकै दुःख थियो । गाउँ नजिकका खोला, खोल्सा, मूल, कुवामा पुगेर एक गाग्री पानीका लागि घण्टौँ समय खर्चनु पर्दथ्यो । रामपुर नगरपालिकाको सहयोगमा लिफ्टिङमार्फत खानेपानी योजना निर्माण भएपछि घरघरमा पानीको सुविधा पुगेको छ । 

SRS AD

नगरपालिकाले खानेपानी योजना निर्माणका लागि विभिन्न आर्थिक वर्षमा गरेर रु १७ लाख ५० हजार रकम र स्थानीय उपभोक्ताको रु चार लाख २१ हजार ६०० सहयोगमा खानेपानी योजना सम्पन्न भई सञ्चालनमा आएको माथिल्लो मनभागा खानेपानी योजनाका सचिव थानबहादुर गाहाले जानकारी दिए ।

नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु आठ लाख, २०७५/७६ मा रु पाँच लाख, २०७८/७९ मा रु एक लाख ५० हजार र ७९/८० मा रु तीन लाख गरी कुल रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको हो । सो योजना निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन् ।

समितिका अध्यक्ष दिलबहादुर सिञ्जालीले २२ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरी लिफ्टिङमार्फत योजना सम्पन्न गरी घरघरमा पानी वितरण भइरहेको बताए ।मनभागामा टोकलोक डिबाट लिफ्टिङमार्फत यहाँका १८ घरपरिवारलाई शुद्ध पिउने पानी वितरण गरेको अध्यक्ष सिञ्जालीले बताए । 

खानेपानी योजनाले स्थानीयको दैनिकीमा ठुलो परिवर्तन ल्याइदिएको स्थानीय अमिता थापाले बताए । “पानी खोज्नका लागि सबेरै उठेर गाउँतिरका कुवा, खोल्सी, मूल भएतिर धाउनुपर्थ्यो, पानी खोज्नमै समय धेरै बिताउनुपर्थ्यो, घरको कामकाज गर्न धेरै अप्ठ्यारो स्थिति बेहोर्नुपर्‍यो, योजनामार्फत घरघरमा धारा जडान गरेर पानी आउँदा हर्षित छौँ, पानी बोक्नमा बित्ने समय अब अन्य कामकाजमा लगाउन पाइने भयो,” उनले खुसी हुँदै भने ।

घरको धारामा चौबिसैँ घण्टा पानी आइरहँदा स्थानीयको वर्षौँदेखिको सपना पूरा भएको छ । नगरकै विकट र दुर्गममा रहेको हुँदा कष्टका साथ गाउँमा खानेपानी योजना सम्पन्न गरेर पानी वितरण गर्न सफल भएको वडाध्यक्ष तोयानाथ सारु थापाले बताए । 

गाउँका स्थानीयले भोगेको खानेपानी समस्याले कतिबेला योजना सम्पन्न गरेर घरघरमा पानी खुवाउने भन्नेमा ध्यान केन्द्रित रहने गरेको र अहिले आएर सपना पूरा भएको नगरप्रमुख रमणबहादुर थापाले बताए । 

खानेपानी योजनाका लागि नगरप्रमुख थापाको जोडबलमा कामलाई धमाधम अगाडि बढाएर अहिले घरघरमा पानी पुर्‍याइएको हो ।“विक्रम संवत् २०७४ को स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका लागि गाउँमा जाने क्रममा खानेपानीको अभाव दयनीय देखेँ, निर्वाचन जिते पनि हारे पनि खानेपानी ल्याउँछु भनेर प्रतिबद्धता जनाएको थिएँ,” नगरप्रमुख थापाले भने, “निर्वाचन सकिएपश्चात् योजनाको काम सुरु भयो, योजना सम्पन्न गरेर पानी खुवाउन पाउँदा खुसी लागेको छ ।” 

नगरवासीको आवश्यकता पूरा गर्नका लागि तीनै तहका सरकार र सरोकारवालाबिच समन्वय तथा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । जनताको आवश्यकतालाई पूरा गर्ने दायित्व जनप्रतिनिधिको भएको भन्दै आवश्यकताका आधारमा काम गर्दै आएको नगरप्रमुख थापाको भनाइ छ । 

नगरप्रमुख थापाको रामपुर नगरपालिकामा दोस्रो कार्यकालको नेतृत्व हो । गाउँमा पहिला बस्ती ठुलो रहे पनि पछिल्लो समय बसाइँसराइले गर्दा बस्ती पातलो हुँदै गएको छ । पहिलो समय यहाँ ३६ घरपरिवारको बसोबास रहेको थियो । रासस

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update