
काभ्रेपलाञ्चोक । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ ।
सशस्त्र बलले तालिम प्राप्त उद्धारकर्ता, विपद् उद्धार सामग्रीसहित २५ जनाको सङ्ख्यामा क्याम्प स्थापना गरेको जनाएको छ । प्रहरी निरीक्षक आलोक बस्नेतको नेतृत्वमा स्थापित क्याम्पले मनसुनको समयमा बाढीपहिरो र सडक अवरुद्ध हुने उच्च जोखिम भएकाले उद्धार राहत कार्यलाई प्रभावकारी बनाउने जनाइएको छ ।
यसैगरी, सो प्रहरी टोलीले बीपी राजमार्ग क्षेत्रको सुरक्षा तथा शान्तिसुरक्षा कायम गर्नाका साथै स्थानीय तह, सुरक्षा तथा अन्य सराकारवाला निकायसँग समन्वय गरी आकस्मिक अवस्थामा तत्कालै परिचालित भई विपद् व्यवस्थापनमा सहयोग पुर्याउने छ।
हेडक्वार्टरले बिपी राजमार्ग क्षेत्रअन्तर्गत रोशी गाउँपालिकाको मङ्गलटारमा मनसुनजन्य घटनालक्षित बेस क्याम्प स्थापनाको तयारी भइरहेको जनाएको छ । हेडक्वार्टरले काभ्रेपलाञ्चोकमा विपद् प्रतिकार्य स्वयंसेवकको तयारीका लागि विपद् स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास गराउन थालेको छ । उसले गत जेठ १२ गते पनौती नगरमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त प्रकृतिको तालिम दिएर अभियानको सुरुआत गरेको थियो ।
यसैगरी बनेपा नगरपालिकामा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै गत जेठ अन्तिम साता तीनदिने विपद् स्वयंसेवक आधारभूत तालिम दिइएको छ । तालिममा विपद् पूर्वतयारी, विपद्–उद्धार त्यसपश्चात्का प्रतिकार्यहरु राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको थियो ।
हेडक्वाटर प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाईंले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीनदिने तालिम प्रदान गर्दै जाने जानकारी दिए । तालिम अवधिभर रेडक्रसले प्राविधिक सहयोग गर्नेछ ।