शम्भु लामा : व्यवस्थापक होटल बज्र तथा प्रबन्ध निर्देशक : नगरकोट फार्म हाउस
आज भन्दा ४५ वर्ष अगाडी राजधानीको भोटाहिटीमा सामान्य रेष्टुरेन्ट सञ्चालन गरी होटल क्षेत्रमा पाइला हालेका शम्भु लामा अन्तराष्ट्रिय स्तरमा परिचित होटल बज्रको म्यानेजर हुन । स्थापनाकाल देखि निरन्तर होटल बज्रमा रहेका लामा पर्यटन व्यवसायी मात्र नभई कलाकार समेत रहेका छन । बरिष्ठ कलाकार महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठद्धारा निर्माण भएमा आधा दर्जन भन्दाबढि टेलिसिरियलमा लामाले सशक्त अभिनय गरेका छन ।
काठमाडौं विजेश्वरी स्वयम्भू स्थित १२ रोपनीमा फैलिएको होटल वज्र २०३६ सालमा स्थापना भएको हो । टु स्टार रहेको वज्र विदेशी पर्यटकहरुको पहिलो रोजाईमा पर्दै आएको छ । लामा होटल बज्रको सफल व्यवस्थापक मात्र नभई नगरकोट फार्म हाउसका प्रबन्ध निर्देशक पनि हुन । २०४५ सालदेखि सञ्चालनमा आएको फार्म हाउस ३५ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
१० वर्ष गृहयुद्धको मारमा परेको पर्यटन क्षेत्र गृहयुद्धको अन्त्य भएको अर्को डेड दश सम्ममा पनि सोचे जस्तो परिवर्तन हुन सकेको छैन । विश्वका राष्ट्रमध्यहरु पर्यटनका लागि अति उत्तम मानिएको हाम्रो मुलुक विकासका दृष्टिकोणले निकै पछि परेको छ । बास्तबमा भन्नु पर्दा युरोपका राष्ट्रबाट नेपाल आउने सिधै हवाइ जहाजको व्यवस्था छैन । विभिन्न गल्फ राष्ट्र हुदै नेपाल आउनु पर्ने अवस्था रहेको छ भने नेपालमा प्रयाप्त रुपमा एयरपोर्ट समेत छैन । हालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थिल पनि आन्तरिक डोमेस्टीक जहाजले साघुरिदै गएको छ । कुनै पनि वेला जहाज ल्यान्ड गर्न घन्टौ आकासमै होल्ड गर्नु पर्ने स्थिती रहेको छ । अर्बौ खर्चेर निर्माण भएका पोखरा र लुम्विनी एयरपोर्ट नियमित सञ्चालनमा आउन सकेको छैन । यहि स्थिती रहेसम्म जति पर्यटक नेपाल भित्र¥याछौं भनेर भट्याए पनि केही हुने छैन लामा भन्छन।
पर्यटन विस्तारमा के गर्नु पर्ला जस्तो लाग्छ भन्ने जिज्ञासामा लामा भन्छन मूख्य कुरा मार्केटिङ गर्न जरुरी छ । साथै प्रयाप्त रुपमा पर्यटक नेपाल आउन हवाइ जहाजको व्यवस्थासगै एयरपोर्टको पनि राम्रो व्यवस्था हुनु पर्दछ । अहिले एउटामात्र रन–वे छ यसलाई बढाएर दुई वा तीन वटा रन–वे बनाउन सकिएमा धेरै राम्रो हुन्छ । त्यसो गर्न नसकेमा डोमेस्टिक उडानलाई अर्को बैकल्पिक एयरपोर्ट व्यवस्था गर्दा पनि हुन्छ । अर्को कुरा भारतको गोवा झर्ने टुरिसको १० प्रतिशत मात्र नेपाल ल्याउन सकिए पनि धेरै टेवा पुग्छ तर त्यसका लागि भरपर्दो बिमान चाहिन्छ, त्यो हामीसँग छैन । साँचै भन्नुपर्दा भारतको गोवाबाट नेपाल आउने फ्लाइट नै छैन ।
पर्यटन क्षेत्रमा विकास भन्दा पनि राजनीति हाबी रहेको पनि लामा बताउछन । कार्यक्रमहरुको भाषणमा बोल्दैमा विकास नहुने पनि उनको भनाई छ । बास्तविक कुरा गर्नु पर्दा देश चलेकै पर्यटन र रेमिट्यान्सले हो तर दुबै क्षेत्रको हित र विकासमा राज्य गम्भिर भएको पाइदैन लामा भन्छन ।
युरोपका अधिकांस मुलुकको भ्रमण गरिसकेका शम्भु लामाले नेपालको ७५ वटै जिल्ला घुमिसकेको वताउछन । चार दशक भन्दा बढि होटल पर्यटन व्यवसायमा जिवन विताएका लामालाई नेपालको कुन कुन क्षेत्र पर्यटकका लागि उपयुक्त छन भन्ने जिज्ञासामा उनी भन्छन आफ्नो मातृभुमी भएरमात्र भनेको होइन बास्तवमा भन्नु पर्दा संसारकै सुन्दर राष्ट्र हो नेपाल । भौगोलिक रुपैमा नेपाल पर्यटकीय स्थल हो । हिमाल ,पहाड ,तराई यसरी मिलेको संसारमा कुनै पनि देश छैन । त्यसैले मैले भन्नु पर्दा सिंगै नेपाल पर्यटकीय दृष्टिकोणले उपयुक्त छ ।