गोरखा । पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल क्षति भएपछि सहिद लखन गाउँपालिका–३ मनकामना र आसपासका डेढसय घरधुरीका बासिन्दालाई आवतजावतमा समस्या परेको छ ।
सहिद लखन गाउँपालिका–३ सिलिङटार र मनकामना केवलकारको तल्लो स्टेसन (चेरेस) जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि तीनवटा टोलका स्थानीय र तीर्थयात्री मर्कामा परेका वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।
‘पुल क्षतिग्रस्त भएपछि सिलिङटार, केवरपानी र मनकामना हटियाका स्थानीयवासीलाई राजमार्ग जान समस्या भएको छ । त्यहाँबाट कुरिनटार र मुग्लिनका विद्यालय, कलेज जाने ५० जनाभन्दा धेरै विद्यार्थीलाई पनि समस्या भएको छ । त्यहाँका किसानले उत्पादन गरेको तरकारी बेच्न बजार जान र बजारबाट अत्यावश्यक सामान किन्न जान पनि समस्या भएको छ ।
“यहाँ पुल नभएपछि अर्को पुल तर्न डेढदेखि दुई घण्टा घुमेर ठेउवाटार पुग्नुपर्छ”, उनले भने ।
यसअघि केवलकार चढ्न नसक्ने वा नचाहने मनकामनाका तीर्थयात्री सो पुल तरेर सिलिङटार पुग्ने र त्यहाँबाट बस, जीप चढेर मन्दिर पुग्ने गर्थे । ‘पुल नभएपछि भक्तजनलाई पनि समस्या भएको छ’, वडाध्यक्ष पाण्डेले भने, “यसपटक त यस्तरी बिग्रियो कि, पुल जीप राख्ने ठाउँसमेत छैन ।” रासस






