काठमाडौं । भारतको दुईदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा विभिन्न विकास आयोजनाका विषयमा छलफल हुने कार्यक्रम छ ।
निर्धारित कार्यतालिकाअनुसार बिहान ११ः१५ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच ‘वान अन वान’ भेटवार्ता हुनेछ । त्यसलगत्तै दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक बस्नेछ ।
बैठकपछि नेपाल र भारतबीच शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालगायतका क्षेत्रमा आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू ) तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
सम्झौतामा हस्ताक्षरपछि दुवै प्रधानमन्त्रीले संयुक्त प्रेस ब्रिफिङमार्फत भेटवार्ता र सहमतिबारे जानकारी गराउनेछन् । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनको सम्मानमा आयोजना गर्ने दिवाभोजमा उनी सहभागी हुनेछन् ।
प्रधानमन्त्री बालेनले दिवाभोजपछि सोमबार दिउँसो ३ः३० बजे भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति मुर्मूसँगको भेटपछि प्रधानमन्त्री बालेन दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट नेपालका लागि प्रस्थान गर्नेछन् । उनी सोमबार साँझ करिब ६ः४५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।







