Khabar Out
प्रधानमन्त्री बालेन आज भारत  भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भ्रमणमा जाँदै छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा ३४ सदस्य रहनेछन् । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारलगायत उच्च अधिकारी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

दुई देशबीच ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारीसमेत छ । साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछ ।

भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ । प्रधानमन्त्री शाहले भारतीय व्यवसायीलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर र सरकारले अघि सारेका नीतिगत प्रयासबारे जानकारी गराउनेछन् ।

प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी उनी सोमबार अपराह्न ४ः५० बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

यस भ्रमणलाई नेपाल–भारतबीच आर्थिक, ऊर्जा तथा विकास साझेदारी थप विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update