Khabar Out
जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता लम्बियो

टर्की । जीवाश्म इन्धनको प्रयोग घटाउने विषयमा सहमति जुट्न नसकेपछि टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनको वार्ता शनिबारसम्म लम्बिएको छ । दुई सातासम्म चलेको सम्मेलन शुक्रबार सम्पन्न हुने तय भए पनि अन्तिम सम्झौताको मस्यौदामा कोइला, तेल र ग्यासको प्रयोग घटाउने विषय समेट्न नसकिएपछि थप छलफल गर्न लागिएको हो ।

मस्यौदामा जीवाश्म इन्धनको उल्लेख नभएको भन्दै जलवायु अभियन्ता र केही देशले असन्तुष्टि जनाएका छन् । विशेषज्ञहरूले जलवायु परिवर्तनको प्रभाव कम गर्न जीवाश्म इन्धनबाट हुने उत्सर्जनमा तत्काल र उल्लेखनीय कटौती गर्नुपर्ने बताउँदै आएका छन् । सन् २०१५ को पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धि औद्योगिक युगअघिको तुलनामा १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखेको थियो ।

अन्ताल्यामा आयोजित कोप–३१ सम्मेलनमा युरोपको अत्यधिक गर्मी र नेपालमा आएको बाढीलगायतका विपत्तिले जलवायु सङ्कटको गम्भीरता उजागर गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ । जलवायु परिवर्तन नियन्त्रणका प्रयासमा पछिल्ला पाँच वर्षदेखि अपेक्षित प्रगति हुन नसकेको पनि औँल्याइएको छ ।

जलवायु परिवर्तनबाट बढी प्रभावित टापु राष्ट्रहरूले विकसित देशसँग थप आर्थिक सहयोग मागेका छन् । उनीहरूले विपत्तिपछिको पुनःस्थापना र जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्न संयुक्त राष्ट्रसङ्घीय कोषमा पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताएका छन् । तर, संयुक्त राज्य अमेरिकासहित विश्वका प्रमुख प्रदूषणकारी केही राष्ट्रले यस वर्षको वार्तामा प्रत्यक्ष सहभागिता जनाएका छैनन् । 

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update