म्याग्दी । जिल्लाको मंगला गाउँपालिका–१ कुहुँमा रहेको दिपशिखा माध्यमिक विद्यालयलाई आवासीयमा रूपान्तरण गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गरिएको छ ।
यही कात्तिक २६ देखि आगामी मङ्सिर ३ गतेसम्म कुहुँस्थित विद्यालय परिसरमा सञ्चालन हुने ‘म्याग्दी मालिका टोड्के, शैक्षिक एवं धार्मिक महोत्सव, श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ’ स्थलमा पूर्वाधार निर्माण सुरु, प्रचारप्रसार र व्यवस्थापकीय तयारी तीव्र पारिएको हो ।
विद्यालयलाई आवासीयमा रूपान्तरण, स्मार्ट विद्यालयको अवधारणाअनुसार सूचना प्रविधिको प्रयोग गरी पठनपाठन, सिकाई उपलब्धि र गुणस्तर वृद्धि गराउने तथा खेलमैदान निर्माणका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको प्रअ नन्दबहादुर खत्रीले जानकारी दिए ।
“विपन्न, भौगोलिक रूपमा विकट र अपायक पर्ने ठाउँका साथै कमजोर विद्यार्थीलाई आवासीय सुविधा दिएर अतिरिक्त कक्षा सञ्चालन गरी सिकाई उपलब्धि वृद्धि गर्ने उद्देश्य राखेका छौँ,” उनले भने, “प्रविधिको प्रयोग र शैक्षिक गुणस्तर वृद्धि गरेर अध्ययनका लागि बालबालिकालाई सहर बजार लैजाने समस्या न्यूनीकरण गर्ने पनि उद्देश्य हो ।”
पण्डित दीनबन्धु पोखरेलले कथाबाचन गर्नुहुने महायज्ञबाट रु तीन करोड जुटाउने र रु दुई करोड बचत गर्ने लक्ष्य राखिएको सहायक प्रअ हरिकृष्ण भट्टराईले बताए । भागवत पाठ–पारायण, पुजाआजा, भजनकिर्तन, कशलयात्रा, आरती, झाकी प्रर्दशनि गरिने उनले बताए ।
कक्षा १ देखि १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल १९६ जना विद्यार्थी छन् । विसं २०१७ मा स्थापना भएको विद्यालयले विसं २०४७ देखि माध्यमिक र विसं २०६५ देखि दश जोड दुई तहको पठनपाठन सञ्चालन गर्दै आएको व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर घर्ती क्षेत्रीले बताए रासस





