Khabar Out
पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन आजदेखि पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने गरी तुइन सञ्चालनमा ल्याइएको छ।

बाढीले आवागमन ठप्प भएपछि उत्तरगया–१, २ र ३ का बासिन्दा लामो समयदेखि यातायातको पहुँचबाट वञ्चित भएका थिए। तुइन सञ्चालनमा आएसँगै स्थानीयको दैनिक आवतजावत र खाद्यान्न ढुवानीमा केही सहजता थपिएको छ।

यात्राको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राख्दै तुइनबाट एक पटकमा एक जना मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिएको स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार तुइनलाई दुवैतर्फबाट सुरक्षित रूपमा तान्न र यात्रुलाई सहयोग गर्न नेपाल रेडक्रस सोसाइटीबाट दुई–दुई जना कर्मचारी तथा स्वयंसेवकको व्यवस्था गरिएको छ।

यो वैकल्पिक व्यवस्थाले सडक पुनर्निर्माण नभएसम्म स्थानीयलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ। रासस

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update