विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि पेस भएको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सो विधेयक सदनमा दफावार छलफलका लागि पेस गरेका हुन् ।
सदनमा कोशी प्रदेशसभा नियमावली मस्यौदा समितिको गठन सम्बन्धमा उपसभामुख सृजना दनुवारले प्रस्ताव पेस गरिन् । प्रदेशका सामाजिक विकासमन्त्री गीता तिम्सिनाले सदनको शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिँदै १०औँ राष्ट्रिय खेलकुदका निम्ति प्रदेश सरकारले रु आठ करोड बजेट विनियोजन गरेको जानकारी दिइन् ।
उनले खेलकुदका लागि आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले भत्ता पनि दिने जानकारी दिइन् । उनले ‘ग्राम थान’ थान संस्कृतिसम्बन्धी विधेयक ल्याउन सरकारले आवश्यक तयारी गरिहेको बताउँदै १०औँ राष्ट्रिय खेलकुदका लागि प्रदेशमा ५२ प्रकारका खेलकुद प्रतियोगिता आयोजन हुने जानकारी दिइन्।
यसअघि आजको सदनको शून्य समयमा प्रदेशसभाका सदस्य खगेश्वरी पौडेल, मीना श्रेष्ठ, यशोदा कायस्त, राजेन्द्र कार्की, तारादेवी ढकाल, रोहितबहादुर कार्की र रेवतीरमण भण्डारीले विविध विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस







