चितवन । राप्ती नगरपालिकाको विकट चेपाङ बस्तीमा नागरिकता वितरण गर्न जिल्ला प्रशासन कार्यालय चितवनको टोलीले पहिरो, भिर र जोखिमपूर्ण बाटो पार गरेर सेवा दिएको छ। राप्ती–१२ र १३ मा पुगेको टोलीले एकै दिन ११२ जनालाई नागरिकता वितरण गरेको हो।
राप्ती–११ को बेलडाँडादेखि माथिल्लो क्षेत्रमा पुग्ने सडक पहिरोले अवरुद्ध थियो। एकातिर भिर र अर्कोतिर लोथर खोला रहेको जोखिमपूर्ण बाटो हुँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोली गाउँ पुगेको थियो। टोलीमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादव, अनुसन्धान कार्यालयका प्रमुख सुरेश तिवारी, प्रशासन तथा निर्वाचन कार्यालयका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार सहभागी थिए।
स्थानीयका लागि भने त्यही जोखिमपूर्ण बाटो दैनिक जीवनको हिस्सा बनेको छ। बिरामी पर्दा स्वास्थ्य संस्था पुग्न, सरकारी सेवा लिन, बजार जान तथा बालबालिकालाई विद्यालय पठाउनसमेत उनीहरूले यही बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। यही कठिन पहुँचका कारण धेरै नागरिक वर्षौंसम्म नागरिकताविहीन बनेका थिए।
७२ वर्षमा पहिलोपटक नागरिकता
राप्ती–१३ की विष्णुमाया प्रजाले ७२ वर्षको उमेरमा पहिलोपटक नागरिकता प्राप्त गरिन्। नागरिकता पाएपछि प्रमुख जिल्ला अधिकारी अर्यालले अब उनले मासिक सामाजिक सुरक्षा भत्ता पाउने जानकारी दिएका थिए। तर उनी तत्काल बुझ्न नसकेपछि वडाध्यक्ष अशोककुमार प्रजाले स्थानीय भाषामै सम्झाएका थिए।
त्यसपछि विष्णुमायाले परिवारका अन्य सदस्यको नागरिकता भए पनि आफ्नो बनाउन आवश्यक ठानेकी थिइनन् भन्दै अब नागरिकता बनेपछि खुसी लागेको बताइन्।
सोही दिन राप्ती–१३ का ८४ जनाले नागरिकता पाए। तीमध्ये ज्येष्ठ नागरिक र महिलाको संख्या उल्लेख्य रहेको वडाध्यक्ष प्रजाले बताए।
अपाङ्ग छोरालाई बोकेर पुगे
राप्ती–१३ का भीमबहादुर प्रजाले अपाङ्ग छोरालाई बोकेर वडा कार्यालय पुगेर नागरिकता बनाएका थिए। सदरमुकामसम्म पुग्न नसक्ने अवस्थाका कारण गाउँमै सेवा पुगेपछि राहत मिलेको उनले बताए।
उनले सदरमुकाम पुग्ने अवस्था नभएकाले गाउँमै नागरिकता पाउँदा लामो समयदेखिको पीडा कम भएको बताए।
तीन घण्टा हिँडेर नागरिकता
सिताबहादुर प्रजा आफ्ना छोरा रावण प्रजा र बुहारी सविता प्रजाको नागरिकता बनाउन करिब तीन घण्टा पैदल हिँडेर वडा कार्यालय पुगेका थिए। भरतपुरसम्म पुग्दा धेरै खर्च हुने भएकाले गाउँमै सेवा पाउँदा सहज भएको उनले बताए।
नागरिकतासँगै मतदाता परिचयपत्रका लागि फोटो खिचाउने अवसर पाउँदा आफू थप खुसी भएको उनले बताए।
त्यस्तै राप्ती–१२ का बाबुलाल प्रजाले २७ वर्षको उमेरमा नागरिकता प्राप्त गरे। प्रशासनमा कसलाई भेट्ने र प्रक्रिया कसरी पूरा गर्ने भन्ने जानकारी नभए पनि गाउँमै सबै सहयोग पाएकाले नागरिकता बनाउन सहज भएको उनले बताए।
राप्ती–१२ बाट २८ जनाले नागरिकता प्राप्त गरेका छन्।
बाटोमै बनाइयो नागरिकता
राप्ती–१३ मा नागरिकता वितरण सकेर टोली फर्किने क्रममा दुई महिला साना बच्चा बोकेर नागरिकता बनाउन आइपुगे। वडा कार्यालयबाट टोली हिँडिसकेपछि उनीहरू झोलुङ्गे पुलनजिक भेटिएका थिए।
उनीहरूलाई फर्काउनुभन्दा बाटोमै सेवा दिने निर्णय गर्दै प्रशासनको टोलीले ल्यापटपमार्फत आवश्यक विवरण तयार गरी त्यहीँ नागरिकता वितरण गरेको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालले कालीटारबाट फर्किने क्रममा झोलुङ्गे पुलमै उनीहरूलाई नागरिकता प्रदान गरिएको बताए।
नागरिकतासँगै मतदाता परिचयपत्र
जिल्ला निर्वाचन कार्यालय चितवनको टोली पनि प्रशासनसँगै गाउँ पुगेको थियो। कार्यालय प्रमुख भीमसेन कार्कीका अनुसार राप्ती–१३ मा नागरिकता प्राप्त गरेका सबै योग्य नागरिकको मतदाता परिचयपत्रका लागि आवश्यक प्रक्रिया पनि पूरा गरिएको थियो।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालय पुग्न नसकेका चार जनाको मतदाता परिचयपत्रसमेत गाउँमै बनाइएको थियो। राप्ती–१२ मा भने विद्युत् अभाव र प्राविधिक समस्याका कारण केही काम बाँकी रहेको उनले बताए।
'कर्णालीजस्तै विकट'
जिल्ला प्रशासन कार्यालय चितवनकी नागरिकता फाँटका प्रशासकीय अधिकृत अन्तिम सिजाली मगरले चितवनमै यति विकट भूगोल रहेको प्रत्यक्ष रूपमा पुगेर मात्र अनुभूति भएको बताइन्।
उनले राप्तीको माथिल्लो भेग कर्णालीजस्तै विकट रहेको र नागरिकता बनाउनसमेत नागरिकले ठूलो दुःख गर्नुपरेको अवस्था देख्दा भावुक भएको बताइन्।
'पहिले ओडार, अहिले जस्ताको घर'
चेपाङ समुदायसँग दुई दशकदेखि काम गर्दै आएका समाजसेवी तथा पत्रकार केपी किरण शर्माले विगतको तुलनामा राप्तीको माथिल्लो क्षेत्रमा धेरै परिवर्तन आएको बताए।
उनका अनुसार पहिले लोथर खोलैखोला हिँडेर पुग्नुपर्ने ठाउँमा अहिले सवारी पुगेको छ। तर सडकको स्तरोन्नति नहुँदा कृषि उपज बजारसम्म पुर्याउन अझै समस्या रहेको उनले बताए।
वडाध्यक्ष अशोककुमार प्रजाका अनुसार नागरिकताविहीन नागरिकको विवरण गाउँगाउँबाट संकलन गरी जिल्ला प्रशासन कार्यालयमा पठाइएपछि प्रशासनको टोली गाउँमै पुगेर सेवा दिन सफल भएको हो। उनका अनुसार नागरिकता पाएपछि स्थानीयले विभिन्न सरकारी सेवा तथा सामाजिक सुरक्षा सुविधामा सहज पहुँच पाउनेछन् । रासस







