Khabar Out
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा

काठमाडौँ। एमबिबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनः आमरण अनसनमा बसेका छन्।

सहमति भएको दुई महिना बितिसक्दा पनि माग कार्यान्वयन नभएको भन्दै उनी अनसनमा बसेका हुन्। एमबीबीएस/बिडिएस इन्टर्न चिकित्सकसँग भएको पाँच बुँदे सहमति कार्यान्वयनको माग गर्दै उनी चिकित्सा शिक्षा आयोगको प्राङ्गणमा आमरण अनसन सुरु गरेका हुन्।

उनले आन्दोलनरत चिकित्सकले पटक–पटक ध्यानाकर्षण गराउँदा अपेक्षित रूपमा गम्भीर पहल तथा निर्णय नभएको आरोप लगाउँदै आफ्ना जायज मागको सुनुवाइ र कार्यान्वयनका लागि पुनःआमरण अनशन सुरु गर्न बाध्य भएको बताए।

इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमको मूल्याङ्कन गर्नुपर्नेलगायतका माग राखेर उहाँले गत साउन १९ गते माइतीघर मण्डलामा आमरण अनसन बसेका थिए। सरकारले साउन २२ गते पाँच बुँदे सहमति गरेपछि उनले अनसन तोडेका थिए।

हरिजनले आफ्नो माग व्यक्तिगत नभई हजारौँ एमबिबीएस तथा बिडिएस विद्यार्थी र इन्टर्न चिकित्सकको भविष्यसँग जोडिएको विषय भएको बताए। सहमति कार्यान्वयन भएमा त्यसको सकारात्मक प्रभाव आगामी पुस्ताका विद्यार्थी तथा चिकित्सकसम्म पुग्ने बताइन्छ।

एमबिबीएस, बिडिएसलगायत एकवर्षे इन्टर्नसीपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल गर्ने, स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने, एमबिबीएस तथा बिडिएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्य घण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनेलगायत पाँचबुँदे सहमति भएको थियो । रासस

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update