Khabar Out
नोबेल पुरस्कारका पाँच तथ्य

काठमाडौँ। मानवताका लागि उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सन् १९०१ देखि प्रदान गरिँदै आएको नोबेल पुरस्कारको इतिहासमा सङ्घर्ष, उमेर, महिला प्रतिनिधित्व तथा संस्थापक अल्फ्रेड नोबेलको साहित्यप्रतिको रुचिसँग सम्बन्धित अनेक रोचक पक्ष रहेका छन् । यस वर्षका नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबर ५ देखि १२ सम्म गरिने भएको छ।

नोबेल शान्ति पुरस्कारका पाँच विजेता भने पुरस्कार समारोहमा सहभागी हुन नपाएको इतिहास छ । सन् १९३६ का विजेता कार्ल भोन ओस्सिट्स्की नाजी यातना शिविरमा रहेकाले समारोहमा उपस्थित हुन पाएनन् । सन् १९९१ की विजेता आङ सान सुकी नजरबन्दमा रहेकाले सहभागी हुन पाइनन् ।

सन् २०१० का विजेता लिउ सियाओबो जेलमा रहेका कारण उनका लागि पुरस्कार समारोहमा कुर्सी खाली राखिएको थियो । सन् २०२२ का विजेता एलेस बियालियात्स्की जेलमा रहेकाले उहाँको प्रतिनिधित्व पत्नी नतालिया पिन्चुकले गरिन् । सन् २०२३ की विजेता नर्गिस मोहम्मदी पनि जेलमै रहेकाले समारोहमा सहभागी हुन पाइनन् ।

उमेरका हिसाबले पाकिस्तानी अधिकारकर्मी मलाला युसुफजाई १७ वर्षको उमेरमा नोबेल पुरस्कार प्राप्त गर्ने सबैभन्दा कान्छी विजेता बनिन्। अर्कोतर्फ अमेरिकी वैज्ञानिक जोन गुडएनफले ९७ वर्षको उमेरमा सन् २०१९ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार पाए । उनी हालसम्मका सबैभन्दा वृद्ध नोबेल विजेता हुन् ।

सन् १९७४ देखि सामान्यतः मरणोपरान्त नोबेल पुरस्कार प्रदान गर्न रोक लगाइएको छ । त्यसअघि डाग ह्यामरशोल्ड र एरिक एक्सेल कार्लफेल्टले मरणोपरान्त नोबेल पुरस्कार पाए । सन् २०११ मा राल्फ स्टाइनम्यानलाई पुरस्कारका लागि चयन गरिएको तीन दिनअघि नै उहाँको निधन भएको जानकारी नभएपछि नोबेल फाउन्डेसनले उहाँलाई पुरस्कार प्रदान गर्‍यो ।

सन् १९०१ यता प्रदान गरिएका ६३३ नोबेल पुरस्कारमध्ये ६८ वटा मात्रै महिलाले प्राप्त गरेका छन् । विज्ञानतर्फ महिलाको प्रतिनिधित्व अझै न्यून रहेको छ । मेरी क्युरी सन् १९०३ मा नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो महिला बनिन् । उनी हालसम्म दुईवटा नोबेल पुरस्कार प्राप्त गर्ने एक्ली महिला हुन् ।

नोबेल पुरस्कारका संस्थापक अल्फ्रेड नोबेल डाइनामाइटका आविष्कारकका रूपमा प्रसिद्ध भए पनि उनी अङ्ग्रेजी कविताका पारखी तथा स्वयं कवि थिए । उनी पर्सी बिसी शेली र लर्ड बायरनबाट प्रभावित रहेको बताइन्छ । उनले जीवनभर कविता लेखे भने जीवनको अन्तिम वर्ष सन् १८९६ मा शेलीको ‘द सेन्सी’बाट प्रेरित ‘नेमेसिस’ नामक चार अङ्कको त्रासदी पनि लेखेका थिए ।रासस

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update