म्याग्दी । असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढी पहिरोले म्याग्दीका करिब पाँच सय ५० घरपरिवार प्रभावित भएका छन् ।
पहिरोका कारण एक सय ११ घरमा पूर्ण क्षति भएको छ भने ९३ घरमा आंशिक क्षति पुगेको छ । यसैगरी तीन सय ४२ घर उच्च जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी क्षति अन्नपूर्ण गाउँपालिकामा भएको छ । त्यहाँ ४५ घर पूर्ण रूपमा भत्किएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको छ । अन्नपूर्णका एक सय ८३ घर अझै जोखिममा रहेका छन् ।
बेनी नगरपालिकामा ३० घर पूर्ण, १४ घर आंशिक र ४५ घर जोखिममा परेका छन् । मंगला गाउँपालिकामा २३ घरमा पूर्ण, ३२ घरमा आंशिक क्षति र ३५ घर जोखिममा परेको सहायक प्रजिअ आचार्यले बताए । यसैगरी रघुगंगा गाउँपालिकामा छ घर पूर्ण, २७ घर आंशिक र ५३ घर जोखिममा परेका छन् ।
मालिका गाउँपालिकामा तीन घर पूर्ण, एक घर आंशिक र तीन घर जोखिममा परेका छन् । धवलागिरी गाउँपालिकामा चार घर पूर्ण, सात घर आंशिक र २३ घर जोखिममा रहेका छन् ।
बाढी पहिरोका कारण ५६ वटा गोठ भत्किएर तथा पुरिएर क्षति पुग्दा २० पशुचौपाया मरेका छन् । अन्नपूर्ण गाउँपालिकाको गिवाङ, पाउद्धार, किन्दु र घिरवाङका एक सय १५ जना पहिरो प्रभावितलाई उद्धार गरेर शिख र घारको अस्थायी शिविरमा राखिएको छ । सडक यातायात अवरुद्ध भएकाले विस्थापितहरूलाई बेनीबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गरेर उपलब्ध गराइएको छ ।
पहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच र मालिका गाउँपालिकामा दुई गरी सात जनाको मृत्यु भएको छ । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा एक–एक जना बेपत्ता भएका छन् ।
पहिरोले सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय भवन, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि तथा पशुपंक्षी लगायतका क्षेत्रमा पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । पूर्ण विवरण सङ्कलन भइसक्दा क्षतिको आँकडा अझै बढ्ने प्रशासनको भनाइ छ। रासस







